संसद्मा गणपूरक सङ्ख्या नपुगेपछि...

राम्रो अनलाइन     ०८ साउन २०७९, आइतबार
संसद्मा गणपूरक सङ्ख्या नपुगेपछि...


काठमाडौँ–गणपूरक सङ्ख्या नपुगेपछि ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६’  माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको सो विधेयकका केही प्रावधानमा राष्ट्रियसभाले संशोधन गरेको थियो । सोही संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गर्ने कार्यसूची थियो । 

त्यसअघि शिक्षामन्त्री पौडेलले जसले जस्तो प्रकारको विश्वविद्यालयको माग आए पनि अनुमति दिन नसकिने बताए । तर यस विश्वविद्यालयले भने देशको आवश्यकतालाई सम्बोधन गर्नेगरी जनशक्ति तयार पार्ने उद्देश्य राखिएको मन्त्री पौडेलको भनाइ थियो ।  

भक्तपुरको ख्वप विश्वविद्यालय र नेपाल विश्वविद्यालय स्थापना गर्ने प्रक्रियासमेत अगाडि बढाइएको उनले जानकारी दिए । मन्त्री पौडेलको भनाइ लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएपछि सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या एकिन गर्न माग गरे । 

तीन मिनेट घण्टी बजाई सांसद सङ्ख्या एकिन गर्न गर्दा कुनै पनि प्रस्ताव पारित गर्न कूल ६९ सांसद उपस्थित हुनुपर्नेमा ५७ जना मात्रै उपस्थित भएपछि  सबै कार्यसूची स्थगित भयो । 
 

प्रतिक्रिया