ब्राकेटसहित बत्तीस लक्षण

राम्रो अनलाइन     ०१ फागुन २०७७, शनिबार
ब्राकेटसहित बत्तीस लक्षण

सर्वज्ञ दर्शन 
–सर्वज्ञ
नारी भएर ठूला कुरा गर्ने ? ठूला कुरा गर्नलाई त पुरुष हुनुपर्छ। नारीलाई कसले हेपेको छ, नारीले नै हैन ? बुहारीलाई सासूले हेप्छिन् कि ससुराले ? कम्युनिस्टका शत्रु स्वयं कम्युनिस्ट भएझैँ आइमाईका शत्रु आइमाई नै हुन्। 

नारी सानोमा पिता, पछि पति अनि पुत्रबाट चिनिनुपर्छ। नारीले धेरै ट्याउँट्याउँ गरेको सुहाउँदैन। नारी भनेको त शान्त र सुशील, धैर्यवान्, आज्ञाकारी, मृदुभाषी हुनुपर्छ। पतिसित मात्र हैन, कसैसित पनि मुखमुख लाग्नुहुन्न। 

घर चलाउने काम नारीको हो। सुन्नुभएकै होला, तपाईं हाम्रा धेरै साथीहरू श्रीमतीको फोन आए, उठाउनुअघि ‘गृह मन्त्रालयबाट’ भन्छन् कि भन्दैनन् ? अनि ? 

आज यो समाज बिग्रँदै गएको छ। किन त भन्दा— पोथीहरू बासेर। कोक्रो हल्लाउनुपर्ने कुन्ताहरूले जान्नी भएर कविता लेख्नी ? क्रान्ति गर्छम् भन्नी ? पुरुषलाई हेप्नी ? 

हामी ‘यत्र नारी पुज्यन्ते, रमन्ते तत्र देवता’ भनेर नारीलाई पूजा गरिराख्या छम्, उनीहरू भने हामीलाई नै शत्रु देखिराख्या छन्। छोटाछोटा पारदर्शी कपडा लगाएर हिँडेपछि बलात्कार हुन्छ भनेर त वामदेव कमरेडले उहिल्यै स्पष्ट पारिसक्नुभकै हो त। पुँजीवादले बलात्कार गरेको भनेर बादल कमरेडले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिसक्नुभकै हो। 

०००

हाम्रो पूर्वीय सभ्यता र दर्शनमा नारीमा हुनुपर्ने ३२ लक्षणबारे व्यापक चर्चा गरिएको छ। आजका नारीहरूमा ती ३२ लक्षणमध्ये दुइटा पनि पाउन गाह्रो छ। नारीहरूमा बढ्दो यस्तो अनुशासनहीन पाराले हाम्रो यो सुन्दर, शान्त, विशाल देशमा समृद्धि कसरी आउँछ ? सुखी नेपाली, समृद्ध नेपालको नारा कसरी साकार हुन्छ ? उग्र नारीवादले संघीयता क्रियान्वयन हुन नदिइरहेको, गणतन्त्र धरापमा पर्दै गएको हेक्का छ कि नाइँ ? सर्वज्ञ बाबालाई त लाग्छ, यो जलवायु परिवर्तनको असर हैन, नारीवादको असर हो। 

अब म ती ३२ लक्षण फेरि सम्झाउँछु अनि सर्वज्ञ बाबाले आविष्कार गरेका ३२ लक्षण पहिलोपल्ट यहाँ खुलासा गर्छु। हाम्रा ऋषिमुनि नारीको सौन्दर्य र स्वभावप्रति कति सजग र चिन्तित थिए भन्ने यहाँ प्रस्ट पार्न चाहन्छु। आदर्श नारी यी ३२ शुभलक्षणले युक्त हुँदा दिन यहाँको भाँडभैलो सकिनेछ, यो नेपाल फेरि स्वर्ग बन्नेछ। 

हुन त १०० मा ३२ लेराए पास मात्र भइने हो, पास हुनलाई ३२ त ल्याउनैपर्छ। ‘नारीलाई नैतिक शिक्षा, आजको आवश्यकता’ शीर्षकमा मेरा केही भनाइ म यहाँ अघि सार्न चाहन्छु ः  

१. पद्मासनमा बस्दा वृत्ताकार आसन हुनुपर्छ। (पद्मासनमा मात्र हैन, सभा–समारोहजस्ता सार्वजनिक वृत्त (पब्लिक स्फेयर) मा बस्दा पनि महिला यति धेरै हुनुपर्छ कि वृत्ताकार आसनले पुरुषको सबै चर्तिकला रेकर्ड गर्न सकोस्।)

२. औँला लामा–लामा हुनुपर्छ। (र, ती लामा–लामा औँलाका नङ पनि लामा–लामा हुनुपर्छ। बलात्कार गर्न आउने पुरुषलाई चिथोर्न काम लाग्छ।) 

३. औँला जोड्दा टम्म मिल्ने हुनुपर्छ। (टम्म मिलेनन् भने अँजुलीबाट रिस चुहिन सक्छ। टम्म मिल्नुपर्छ।)

४. छाला नरम हुनुपर्छ र वृद्धावस्थामा पनि युवाको जस्तो श्री हुनुपर्छ। (छाला नरम हुनुपर्छ। यसका लागि भाँडा माझ्ने, घर सफा गर्ने, घाँसपात गर्ने, लत्तोकपडा धुने, केटाकेटी स्याहार्ने जस्ता सबै कामबाट महिलालाई मुक्ति दिनुपर्छ। अनि, छाला नरम त हुन्छ नै। महिला वृद्धावस्थामा पनि युवा हुनुपर्छ। ताकि हिंस्रक पुरुषलाई मार्सल आट्र्स देखाउन पाइयोस्।) 

५. शरीर सात प्रकारले सुवासित हुनुपर्छ। (बसी–बसी उपदेश दिन पाए, काम गर्न नपरे शरीर सुवासित हुन्छ नै, के ठूलो कुरा भो ?) 

६. हरिणका जस्ता फिला हुनुपर्छ। (अरू के के हरिणका जस्ता हुनुपर्छ ? शुभलक्षणले थप लेखको माग गर्छ।)

७. गुप्तांगहरू हात्तीका अण्डकोषजस्तै गुप्त रहनुपर्छ। (हो है, पुरुषहरूका जति बाहिरिए पनि हुन्छ ? गुप्त भको–नभको पुरुषले गुप्त भइरहेर चाल पाउने रहेछ।) 

८. शरीरको माथिल्लो भाग सिंहको जस्तै सलक्क परेको हुनुपर्छ। (ब्वाँसाहरूलाई खाइदिन, तर्साइदिन अब महिलाहरू सिंह हुनैपर्ने नि।) 

९. शरीरका विभिन्न अंग सुगठित रहनुपर्छ। (पितृसत्तासित वैचारिक मात्र हैन, भौतिक रूपमै लड्न सुगठित त हुनैपर्छ।) 

१०. काँध पुष्ट, चौडा एवं गोलो हुनुपर्छ। (देशको शासन–प्रशासन, सब क्षेत्र नारीको काँधमा आउँदै छ, आउनुपर्छ, यसका लागि काँध पुष्ट, चौडा, गोलो चाहिएको हो।) 

११. पाखुरा राम्रोसँग फर्कने तथा तलसम्म पुग्ने हुनुपर्छ। (भरे फेरि एकान्तमा वैवाहिक बलात्कारविरुद्धै पाखुरा सुर्कनु त छँदै छ।) 

१२. बाहु (हात) लामा हुनुपर्छ। (पितृसत्ताले समाजलाई यति भ्रष्ट बनाइदिएको छ कि लामो हात नगरी त यहाँ केही पाइँदैन। यसका लागि नारीका बाहु लामा हुनुपर्छ।)

१३. सम्पूर्ण शरीर तेजोमय वृत्तले युक्त हुनुपर्छ। (हे ऋषिमुनि ! यसरी उपदेश दिनुभयो कि यो हजारौँ वर्षमा हजुरभन्दा तेजोमय भइसके नारी।) 

१४. शंखसमान घाँटी हुनुपर्छ। (शंख पुरुषको पेवा भएपछि नारीले कसरी घाँटीलाई शंखजस्तो बनाउने ?) 

१५.सोझो र सिंहको जस्तै चिउँडो हुनुपर्छ। (हो, सिंहजस्तो मात्र हैन, सिंह नै हुनुपर्छ।) 

१६. बत्तीस दाँत हुनुपर्छ। (जबर्जस्ती गर्न आए अन्तिम अस्त्रका रूपमा टोक्न काम लाग्छ।) 

१७. उज्ज्वल र छिद्ररहित दन्तपंक्ति हुनुपर्छ। (नम्बर १६ सित मर्ज गरिएको छ।) १८. स्वच्छ एवं परस्परमा मिलेका दाँत हुनुपर्छ। (नम्बर १६ र १७ सित मर्ज गरिएको छ।) 

१९. बंगारा स्वच्छ र सुन्दर हुनुपर्छ। (नम्बर १६, १७ र १८ सित मर्ज गरिएको छ।)

२०. जिब्रो लामो हुनुपर्छ। (लामै हुनुपर्छ। पुरुषलाई लोप्पा खुवाउन काम लाग्छ ।)

२१. विभिन्न सूक्ष्मातिसूक्ष्म स्वाद लिने शक्ति हुनुपर्छ। (अनेक अखडा, अनेक भट्टी, अनेक रेस्टुराँको स्वाद पुरुष लिन्छ अनि महिलाको पानीपुरी–अमिलो पिरोको स्वाद बढी देख्छ।)

२२. भँगेराको जस्तो स्वर हुनुपर्छ। (सब कुरा सिंहको जस्तो भएपछि स्वर मात्र किन भँगेरा ? सिंहकै जस्तो हुनुपर्छ नि।) 

२३.ब्रह्माको जस्तो मौलिक एवं ज्ञानपूर्ण वाणी हुनुपर्छ। (ब्रह्माको जस्तो किन ? गार्गी, मैत्रेयी, घोषा, रोमशाहरूको जस्तो भए हुँदैन ?) 

२४. आँखीभौँ साँढेको जस्तो र नीलकमल रंगका हुनुपर्छ। (साँढेहरूको आँखामा साँढे संसार !)

२५. दुई आँखीभौँका बीच कोमल रोमरेखा हुनुपर्छ। (तिमीले यही उपदेश दिएर त संसारमा थ्रेडिङको आविष्कार भएको। कपीराइट तिमीमै छ नि।) 

२६. पगरीजस्तो मिलेको र राम्रो केश हुनुपर्छ। (नारीको केश र फेसको बाहिरी सौन्दर्य मात्र पेश गर्ने तिमी त पुँजीवादका जनक होऊ नि।)  

२७. शुद्ध सुनजस्तो प्रदीप्त शरीर हुनुपर्छ। (हो, ३३ किलो सुनले पुरिएका पुरुषको जस्तो प्रदीप्त शरीर हुनुपर्छ।)

२८. प्रबल व्यक्तित्व हुनुपर्छ। (‘पुरुषको जस्तो व्यक्तित्व’ हुनुपर्नेमा ‘प्रबल व्यक्तित्व’ भएकामा सच्याइएको छ। प्रबल गुरुङकै कारण बढ्ने हो, आजको दिनमा व्यक्तित्व।) 

२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम एवं दाहिनेतिर घुमेका रौँ हुनुपर्छ। (देबे्र घुमे त लेफ्टिस्ट भइहालियो, क्रान्तिकारी हुनबाट रोक्ने यो चाल !)

३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनुपर्छ। (केशमुण्डन गरेर पित्तृसत्तालाई श्रद्धाञ्जली दिनु खास शुभलक्षण हो।) 

३१. न्यग्रोध परिमण्डल हुनुपर्छ। (वायुमण्डलको यो श्रव्य प्रदूषण !)

३२. विष्णुको जस्तो दृढ स्वभाव हुनुपर्छ। (हो, विष्णुको जस्तो दृढ स्वभाव हुनुपर्छ। निजी सम्पत्तिको राष्ट्रियकरणको मन्त्र जपेर राष्ट्रिय सम्पत्तिको निजीकरण गर्नुपर्छ र आफूमाथि महान् अभियोग लागे पनि चोखो देखिन दृढ हुनुपर्छ। बस्।)

०००

यति बुद्धि, यति लक्षण चाहिन्छ भन्न सक्ने साहस त आजका सुन्दरी प्रतियोगिताका आयोजक–जजसित नि छैन।

प्रतिक्रिया