छात्रालाई होटलमा लगेर परीक्षा लिई जबरजस्ती करणीको प्रयास गरेको अभियोग लागेका राष्ट्रिय उच्च मावि टुँडिखेल कास्कीका शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन्।
जिल्ला अदालत कास्कीको आदेशमा शिक्षक शिरिषकुमार बस्ताकोटी बिहीबार जेल चलान भएका हुन्। परीक्षा अमर्यादित बनाएको आरोप लागेका अरु ३ जना धरौटीमा छुटेका छन्।
कक्षा ११ की छात्रालाई ऐच्छिक अंग्रेजी विषयको परीक्षा लिन शिक्षक बस्ताकोटीले मंसिर १२ गते रुपाताल किनारको एक होटलमा लगेका थिए।
परीक्षा होटलको कोठामा लिई बियर मासुसमेत खाएर छात्रामाथि जबरजस्तीको प्रयास गरेको आरोप शिक्षक बस्ताकोटीलाई थियो। उक्त मुद्दामा जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बस्ताकोटाीलाई थप अनुसन्धानका लागि कारागारमा राख्ने आदेश गरेको अदालतका सूचना अधिकारी नील पनेरुले जानकारी दिए।
मौका परीक्षा विद्यालयले विद्यालयमै लिनुपर्नेमा शिक्षकले मोटरसाइकलमा राखी छात्रालाई होटल पुर्याएका थिए। उक्त घटना २ महिनापछि सार्वजनिक भएको थियो। प्रहरीले शिक्षक बस्ताकोटीलाई पक्राउ गरी मुद्दा चलाएको थियो।