काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही चैत १८ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् ।
भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहनेछन् । प्रधानमन्त्री देउवासहितका प्रतिनिधिहरुलाई भारतीय उपराष्ट्रपति एम वेंकैया नायडूले स्वागत गर्नेछन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार चैत १९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।
साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । त्यसैगरी, प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।
त्यस्तै, प्रधानमन्त्री देउवाले भारत भ्रमणको अवसरमा नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री चैत २० गते काठमाडौं फर्कनुअघि वाराणशीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।