अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको विश्वसनीयता वृद्धि भएको छ : प्रधानमन्त्री देउवा

राम्रो अनलाइन     ०५ चैत २०७८, शनिबार
अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको विश्वसनीयता वृद्धि भएको छ :  प्रधानमन्त्री  देउवा

 

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताएका छन् । 

नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

नेपाल र नेपाली जनताको हित प्रवद्र्धनमा केन्द्रित भएर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, सबै देशबाट अधिकतम सद्भाव, समर्थन अनुकूल अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्ने लक्ष्य राखेको उनको भनाइ छ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ ले निम्त्याएको सीमितताका बाबजुद सरकारले अन्तर्राष्ट्रिय संलग्नतालाई तीव्रता दिइरहेको उल्लेख गरे ।

विदेशी फोरमहरूमा नेपालको सक्रिय र अर्थपूर्ण सहभागिताले हाम्रो अन्तर्राष्ट्रिय दृश्यता बढाउन मद्दत गरेको उनको भनाइ छ।

सरकारले घोषणा गरेको साझा न्यूनतम कार्यक्रमले कार्यान्वयन गर्नुपर्ने प्रमुख प्राथमिकता उल्लेख गर्दै उनले भने, ‘राष्ट्रिय र जनताको हितको संरक्षण तथा प्रवद्र्धन सरकारको प्रमुख प्राथमिकतामा रहेको छ।’

उच्च र समतामूलक आर्थिक विकास, सामाजिक–आर्थिक रूपान्तरणको आधारशिला निर्माण, सङ्घीयताको कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेलगायतका विषय सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ।

प्रधानमन्त्री देउवाले पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मापदण्डहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको परराष्ट्र नीतिले मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरेका छन् ।

उदार, नियममा आधारित, न्यायोचित, निष्पक्ष र सहकारी विश्वव्यापी व्यवस्थाको वकालत गर्न जारी राख्ने प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री देउवाले दिगो विकास लक्ष्यहरू प्राप्त गर्न र हाम्रा अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्ने राष्ट्रिय विकास आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए । 

वर्तमान सरकार जतिसक्दो चाँडो मुलुकमा आर्थिक रूपान्तरण गरी जनताको जीवनस्तरमा सुधार ल्याउन पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ छ।

‘नेपालको कूटनीतिको मुख्य आधार आर्थिक एजेन्डाको खोजी नै हो’, प्रधानमन्त्री देउवाले भने, ‘ हामीले हाम्रा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा थप विदेशी लगानी आकर्षित गर्ने, निर्यात व्यापार विस्तार गर्ने र पर्यटन प्रवद्र्धन गर्नेलगायतका गतिविधिहरूमार्फत हाम्रा अत्यावश्यक आर्थिक हितलाई प्रवद्र्धन गर्ने प्रयास गरेका छौँ।’

 

प्रतिक्रिया