भर्चुअल विधिबाट निर्वाचन पूर्वसुरक्षा अभ्यास गर्दै सशस्त्र प्रहरी बल 

राम्रो अनलाइन     ०४ चैत २०७८, शुक्रबार
भर्चुअल विधिबाट निर्वाचन पूर्वसुरक्षा अभ्यास गर्दै सशस्त्र प्रहरी बल 

 

काठमाडौँ– आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बलले मतदान केन्द्रको ‘भौगोलिक र संवेदनशील’ स्थलका आधारमा निर्वाचन सुरक्षा रणनीति अभ्यास सुरु गरेको छ ।

निर्वाचनमा आइपर्ने सम्भावित चुनौती, बाधा व्यवधान र अप्ठ्यारो अवस्थाको व्यवस्थापनका लागि प्रदेश र सङ्घमा गरी सातवटा बाहिनीस्तरमा भुर्चअल विधिबाट निर्वाचन पूर्वसुरक्षा अभ्यास गरिएको सशस्त्र प्रहरी प्रवक्ता कोमलप्रसाद तिउसिनाले बताए ।

स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सशस्त्र प्रहरी नायब महानिरीक्षकको कमान्डमा केन्द्रीयस्तरीय, बाहिनीहरूमा प्रदेशस्तरीय र जिल्लास्थित गण तथा गुल्ममा जिल्लास्तरीय निर्वाचन सेल गठन गरिसकेको छ । त्यसका लागि स्थानीय तह निर्वाचन सुरक्षा अनुशिक्षण तालिम पाठ्यक्रम–२०७८ तयार पारी आवश्यक प्रशिक्षण दिने कार्य जारी छ । निर्वाचन सुरक्षामा करिब ३४ हजार सशस्त्र प्रहरी जनशक्ति परिचालन हुने जनाइएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक तिउसिनाले निर्वाचन सुरक्षाका लागि जनशक्ति र स्रोतसाधन व्यवस्थापन योजना बनाउने कार्य अन्तिम चरणमा रहेको बताए । बाहिनी मुख्यालयलाई प्रदेशगत र गण–गुल्मलाई जिल्लागत निर्वाचन सुरक्षा योजना बनाउन निर्देशन भइसकेको छ । यस पटक उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्ने योजना सशस्त्र प्रहरी बलको छ । सूचनाको निरन्तर विश्लेषणसँगै संवेदनशील र अति संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी अहिलेबाट नै सुरु गरिएको उनले बताए ।

मतपेटिका र ढुवानीमा सशस्त्र
गृह मन्त्रालयका अनुसार, सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षाको दोस्रो घेरा राखिएको छ । पहिलो घेरामा नेपाल प्रहरी र म्यादी सुरक्षाकर्मी रहेका छन् । मतदान केन्द्रको बाहिरी सुरक्षा, मतदान सम्पन्न भइसकेपछि मतपेटिका ढुवानीलगायत सुरक्षामा सशस्त्र प्रहरी खटिने छ ।

मतदान केन्द्र, मतपेटिका ढुवानी मार्ग र भण्डार भवन सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरीले ‘पट्रोलिङ तथा रेकी’ गस्ती थालेको छ, अन्य सुरक्षा निकायसँग समन्वय तथा सहकार्य स्थानीयवासीसँग संवाद र छलफल सुरु गरेको छ ।

त्यस्तै नेपाल–भारत सीमा नाकाबाट हुन सक्ने घुसपैठ नियन्त्रणका लागि मुख्य, सहायक र वैकल्पिक मार्गहरूमा निगरानी बढाइएको छ । निर्वाचनको समयमा सीमानाका बन्द गरिए पनि त्यसअघि हुनसक्ने सम्भावित घटना रोक्न निगरानी बढाइएको प्रवक्ता तिउसिना बताउँछन् । विशेष गरी सीमानाकाका स्थानीयवासी, जनप्रतिनिधि र राजनीतिकर्मीसँग सहकार्य तथा समन्वय गरी यस विषयमा सतर्क र सजकता अपनाउन सशस्त्र प्रहरी बलले अनुरोध गरेको हो ।

एक लाख म्यादी प्रहरी माग
नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि एक लाख म्यादी प्रहरीको माग गरेको छ । यही महिनाको ६ गतेदेखि ११ गतेसम्म सात दिनभित्र ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सक्ने व्यवस्था मिलाइएको छ ।

१८ वर्ष उमेर पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले निःशुल्क रूपमा दरखास्त दिन सक्ने छन् । यो पटक म्यादी प्रहरीको कार्यअवधि ४० दिनको मात्र हुनेछ । सो अवधिमा आधारभूत तलब मासिक २२ हजार ६८० रुपियाँ गरी ४० दिनको जम्मा ३० हजार २४० हुनेछ । खाद्यान्नबापत सात हजार दुई सय, यातायात खर्च एक हजार र पोसाक छ हजार उपलब्ध हुने जनाइएको छ । सरकारले तोकेबमोजिम बीमा सुविधा रहेको छ । भूतपूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकतामा राखिएको छ ।

साढे दुई लाख सुरक्षाकर्मी परिचालन
निर्वाचन सुरक्षामा प्रहरी जनशक्ति ७४ हजार, म्यादी एक लाख र सशस्त्र प्रहरी ३४ हजार गरी करिब दुई लाख आठ सय सुरक्षाकर्मी परिचालन हुनेछन् । नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाटसमेत करिब ५० हजार सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ ।

निर्वाचन आयोगले करिब १० हजार ८७० मतदान स्थल निर्धारण गरेको छ । संवेदनशील मतदान स्थलमा चार प्रहरी छ म्यादी गरी १० र अति संवेदनशीलमा पाँच प्रहरी र छ म्यादी गरी ११र१२ जनासम्म सुरक्षाकर्मी परिचालन हुनेछन् । सेना र सशस्त्र प्रहरीले सुरक्षा गस्ती गर्ने छन् ।

प्रतिक्रिया