नागार्जुनमा पाँच जनाको परिवारले नै विष पिएर आत्महत्याको प्रयास, एकको मृत्यु

राम्रो अनलाइन     २४ फागुन २०७८, मङ्गलबार
नागार्जुनमा पाँच जनाको परिवारले नै विष पिएर आत्महत्याको प्रयास, एकको मृत्यु

 

काठमाडौँ– काठमाडौंको नागार्जुनमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन्। नागार्जुन–६ रामकोट डाडापौवास्थित एउटा २ तल्ले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिई बस्दै आएका एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेको र एकजनाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंमा एसपी दिनेश मैनालीले जानकारी दिए।

मृत्यु हुनेमा डल्लु स्थायी घर भई रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधान रहेका छन्। उनका परिवारका थप चार सदस्यको गम्भीर अवस्थामा मनमोहन अस्पताल सितापाइलामा उपचार भइरहेको छ। घाइतेहरु ६२ वर्यीया इन्दिरामाया, ३८ वर्षीय भीममान, ३५ वर्षीया मन्दिरा, ११ वर्षीया सुप्रिया बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

विषादी औषधी सेवन गरी बेहोस अवस्थामा रहेको भन्ने खबर पाएपछि प्रहरी बृत्त स्वयम्भू र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार राती घाइतेहरुको उद्धार गरेको थियो। घाइतेमध्ये सुवर्णमानको अस्पताल पुर्‍याएलगत्तै मृत घोषणा गरिएको थियो।

हालसम्म विषादीको नाम नखुलेको, विषादी सेवन गर्नुको कारण नलुखेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि सोमबार ललितपुरको नुल्लुमा निस्सासिएर दुई दिने शिशुसहित एकै परिवारका पाँच जना मृत्यु भएको थियो। जिवितै उद्धार गरिएका एक जनाको उपचार भइरहेको छ।  

प्रतिक्रिया