बेनी– आगामी वैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन म्याग्दीका राजनीतिक दलहरु सक्रिय भएका छन् ।
जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिकासहित ४५ वटै वडाहरुमा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको स्थानीय तहको निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ ।
जिल्लामा रहेका मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतले निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् । राजनीतिक दलको यो अभियानसँगै निर्वाचनको सरगर्मी बढ्न थालेको छ । भेला, बैठक र प्रशिक्षणका कार्यक्रम लिएर दलका नेताहरु गाउँ–गाउँ पुग्न थालेपछि ग्रामीण भेगसम्म नै चुनावी सरगर्मी बढेको हो ।
आगामी निर्वाचनमा वडादेखि पालिकासम्मको नेतृत्वमा पुग्न आकाङ्क्षीहरुले आ–आफ्नो दलभित्र समेत आफ्नो दाबेदारी राख्न थालिसकेका छन् भने स्वतन्त्र रुपमा उम्मेदवारहरुसमेत खुल्न थालेका छन् । सङ्घीयताको पहिलो कार्यकाल अलमलमै बिते पनि आगामी निर्वाचनमा आफ्नो दललाई विजयी गराउन अनुरोध गर्दै जनप्रतिनिधिसहित दलका नेता तथा कार्यकर्ताहरु गाउँघरमा भोट माग्न थालिसकेका छन् । म्याग्दीमा रहेका ६ स्थानीय तहमध्ये दुईमा एमाले र चारमा कांग्रेसले नेतृत्व गरेका छन् । स्थानीय तह निर्वाचनपछि भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।
एमाले विगतमा स्थानीय तह निर्वाचनमा गुमेको साख फर्काउने योजनामा छ । कांग्रेसले आफ्नो साख जोगाउँदै पहिलो शक्तिका रुपमा स्थापित हुने प्रयत्नमा देखिन्छ भने नेकपा (माओवादी केन्द्र) ले एमाले र कांग्रेसकै हाराहारीमा नतिजा ल्याउने योजनामा अघि बढेको देखिन्छ । जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय तहको नेतृत्वका लागि जिल्लास्थित राजनीतिक दलका पदाधिकारी र नेताहरुसमेत इच्छुक देखिएका छन् ।
स्थानीय तह र वडास्तरमा रहेका पार्टीका कमिटीहरुको बैठक राखेर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको एमाले म्याग्दीले जिल्ला कमिटीको बैठकबाट थप निर्वाचन लक्षित योजना बनाएको छ । ‘सबै शक्ति अब चुनावमा केन्द्रित गर्छौं, पार्टी सङ्गठनसँगै विभिन्न जनवर्गीय सङ्गठनहरु चुनावी अभियानमा सक्रिय भएका छन्, भेला, बैठक, प्रशिक्षणका कार्यक्रमले थप व्यापकता पाउँछन्’, एमाले म्याग्दीका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले भने । उनका अनुसार, पालिका कमिटीहरुले निर्णय गरेर टोल अभियान सञ्चालन गरेका छन् ।
वडा कमिटीको नेतृत्वमा सञ्चालन भएको टोल अभियानमा जिल्लास्तरका नेताहरुसमेत पुग्ने गरेका छन् । नेपाली कांग्रेस म्याग्दीले जिल्ला कार्यसमितिको बैठक नै राखेर औपचारिक रुपमा चुनावी अभियान सञ्चालन नगरेको भए पनि पालिका र वडा कमिटीहरुले स्वतन्त्र रुपमा चुनावी अभियानलाई तीव्रता दिएका छन् । अहिले वडा र पालिकामा रहेका कार्यसमितिमार्फत टोल कमिटी गठन, भ्रातृसंस्थाहरुको पुनर्गठन, र सङ्गठन विस्तार तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन भइरहेको कांग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले जानकारी दिए ।
‘पार्टी सभापतिले निकट दिनमा जिल्ला कार्यसमितिको बैठक आह्वान गर्ने तयारी गर्नुभएको छ, कुनै न कुनै रुपमा अहिले नेता तथा कार्यकर्ताहरुको सक्रियता पार्टीकै गतिविधि र कार्यक्रममा छ,’ उनले भने । कांग्रेस म्याग्दीमा सम्भावित उम्मेदवारहरुको टुङ्गो लगाउन र प्रतिस्पर्धीहरुबीच सर्वसम्मत रुपमा उम्मेदवारको टुङ्गो लगाउनका लागिसमेत आन्तरिक छलफल अघि बढेको छ ।
यसअघिको जनमतका आधारमा तेस्रो शक्तिका रुपमा रहेको नेकपा (माओवादी केन्द्र) म्याग्दीले यस पटकको स्थानीय तह निर्वाचनमा अन्य दुई दलकै प्रतिस्पर्धामा आफ्नो सङ्गठनको स्थान बनाउने रणनीतिका साथ चुनावी अभियानलाई अघि बढाएको छ । पालिका कमिटीहरुको बैठकमार्फत वडा कमिटी हुँदै टोल र सेल कमिटी गठन गर्ने र जनवर्गीय सङ्गठनहरुको पुनर्गठन र विस्तारका कार्यक्रमलाई अघि बढाइएको माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन) ले बताए ।
‘स्थानीय तहको निर्वाचनका लागि सबै पालिका र वडा कमिटीहरुलाई चुनावमा केन्द्रित हुन भनेका छौँ, सबै पालिका र वडा कमिटीहरु क्रियाशील बनेका छन्, यस पटक माओवादीको सुदृढ सङ्गठनले जिल्लामा मजबुत नतिजा ल्याउने गरी अघि बढेका छौँ’, संयोजक जुग्जालीले भने । उनका अनुसार, चुनावी प्रशिक्षण र अभियानलाई थप व्यापक बनाउने तयारी गरिएको छ । जिल्लामा माओवादीबाट निर्वाचित वडाध्यक्षहरुले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले भन्दा नमूना र सफल काम गरेको दाबी गर्दै सङ्घीयता माओवादीको एजेन्डा भएकाले हाम्रो नेतृत्वले मात्र त्यसको सफल कार्यान्वयन गर्ने भएकाले यस पटक आफ्नो पक्षमा जनमत बढ्ने माओवादीको विश्वास छ ।
एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले समेत आफ्नो सङ्गठनलाई जिल्लाको सबै पालिका स्तरमा विस्तार गर्ने गरी गतिविधिलाई तीव्रता दिएको छ । पार्टी सङ्गठन निर्माणसँगै जनवर्गीय सङ्गठन निर्माण र चुनाव लक्षित भेला तथा प्रशिक्षणका गतिविधि अघि बढाइएको नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । जिल्लामा एमाले, कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) सँगै राप्रपा, मङ्गोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमोर्चा, जनमुक्ति पार्टी लगायतको समेत सङ्गठन छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग लिनेबारे अझै स्पष्ट पारिसकेको छैन । मुख्य तीन पार्टीबीच एक्लाएक्लै प्रतिस्पर्धा गर्ने अवस्था आएमा साना पार्टीका मतदातासमेत कतिपय वडा र पालिकामा निर्णायक बन्ने देखिएको छ । राजनीतिक दलबाहेक स्वतन्त्र रुपमा समेत उम्मेदवारी घोषणा हुन थालेको छ । रघुगङ्गा गाउँपालिका–२ भगवतीका युवा सागर भण्डारीले गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेर आफ्ना चुनावी एजेन्डाहरु नै अघि सारिसकेका छन् भने बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल प्रवासमा रहेका युवा निराजन थापाले समेत ‘लक्ष्य २०७९’ घोषणा गरी बेनी नगरपालिकाको प्रमुखमा उठ्ने घोषणा गरेका छन् ।
म्याग्दीमा मतदाता नामावली अद्याावधिक गरिँदै
स्थानीय तह निर्वाचनलाई लक्षित गरी म्याग्दीमा मतदाता नामावली अद्यावधिक सुरु भएको छ । निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्नका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक एवम् दाबी विरोधका लागि कार्यक्रम सञ्चालन गरेको छ । मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र वास्तविक मतदाताहरुको पहिचानका लागि अद्यावधिक अभियान सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए ।
निर्वाचन आयोगमा तयार भएको फोटोसहितको मतदाता नामावलीमा मतदाताका नाम र विवरणमा हुनसक्ने दोहोरोपनलगायत सबै प्रकारका त्रुटिहरु सच्याउनका लागि सबै वडा कार्यालयमा नामावलीको विवरण टाँस गरिएको जनाइएको छ । फागुन २० देखि २५ गतेसम्म अभियानकै रुपमा कार्यतालिका बनाएर मतदाता नमावली प्रकाशन, दाबी विरोधसहितको अद्यावधिक गर्न लागिएको कार्यालयले जनाएको छ ।
म्याग्दीमा अहिले ७८ हजार ३१८ जनाको मतदाता नामावलीको विवरण सङ्कलन भएको छ । अद्यावधिक अभियानका क्रममा मृत्यु भएका, दोहोरोपन भएकाको हटाउने र नाम, थर, उमेर लगायतका विवरणमा त्रुटि भएमा सच्याउन सकिने कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माले जानकारी दिए ।