महिला टी–२० क्रिकेट :  नेपालको विश्वकप खेल्ने सपना अधुरै

राम्रो अनलाइन     १३ मंसिर २०७८, सोमबार
  महिला टी–२० क्रिकेट :  नेपालको विश्वकप खेल्ने सपना अधुरै

काठमाडौं– नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरो बनेको छ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको जित्नैपर्ने अन्तिम खेलमा यूएईसँग ४८ रनले पराजित भएपछि नेपालको विश्वकप यात्रा सकिएको हो ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा आइतबार भएको अन्तिम खेलमा यूएईले दिएको एक सय २८ रनको विजय लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा सबै विकेटको क्षतिमा ७९ रनमा समेटिएको थियो ।

नेपालका लागि इन्दु बर्माले १५ रन बनाइन् । सीता रानामगरले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । 

नेपाललाई सस्तैमा समेट्न समैरा धारनीधारकाले सर्वाधिक चार विकेट लिए । खुशी शर्मा र चामानी सेनेभिरत्नाले समान दुई दुई विकेट लिए । चाया मुगलले एक विकेट लिइन् ।

यसअघि दुबईको आईसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनाएको छ ।

यूएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन बनाइन् । थिर्था सतिसले ४७ र कभिसा इगोडेजले २२ रन बनाइन् ।

बलिङमा नेपालकी कविता कुँवरले दुई तथा सबनम राई, सीता रानामगर र सङ्गीता राईले एक एक विकेट लिए । जितसँगै यूएईले टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको छ । ६ टोली सहभागी छनोट खेलमा यूएई एक्लो अपराजित टोली हो । शीर्षस्थानमा रहेको यूएईको १० अङ्क छ । दोस्रो स्थानमा रहेको नेपालको ६ अङ्क छ ।

प्रतिक्रिया