‘सर्वसम्मत’ र ‘निर्विकल्प’  हुने ओलीको इच्छा पूरा भएन, अध्यक्षमा भीम रावलसँग प्रतिस्पर्धा गर्दै 

राम्रो अनलाइन     १३ मंसिर २०७८, सोमबार
‘सर्वसम्मत’ र ‘निर्विकल्प’  हुने ओलीको इच्छा पूरा भएन, अध्यक्षमा भीम रावलसँग प्रतिस्पर्धा गर्दै 

 

चितवन– महाधिवेशन प्रतिनिधिलाई आफ्नो विवेक प्रयोग गर्न नदिइ सर्वसम्मतिको नाममा पदाधिकारीसहित आफू अनुकुलको केन्द्रीय कमिटी घोषणा गरे पनि अध्यक्ष केपी शर्मा ओलीले अन्ततस् प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । 

ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिने भएपछि एमाले महाधिवेशनमा अध्यक्ष पदमा पनि निर्वाचन हुने स्थिति आएको हो ।

अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो । सोमबार बिहान मनोनयन दर्ताको कार्यक्रम छ । त्यहाँ अध्यक्षमा रावलले उम्मेद्वारी हाल्दैछन् । आइतबार मध्यरात नै उनले फारम लगेर भरिसकेका छन् ।

अब अध्यक्ष ओलीले प्रस्ताव गरेको पदमा संख्या भन्दा बढी उम्मेदवार परे ती पदहरूमा चुनाव हुन्छ । नेता घनश्याम भुसाल पनि सहमतिको प्रस्तावमा समेटिएका छैनन् । त्यसैले उनले पनि उपाध्यक्षमा उम्मेदवारी दिने सम्भावना छ । उनले उम्मेदवारी दिए उपाध्यक्ष पदमा पनि निर्वाचन हुन्छ । केन्द्रीय सदस्यहरूमा पनि धेरै आकांक्षीको नाम छुटेको छ । त्यसैले ती पदमा पनि निर्वाचन हुने सम्भावना छ । 

प्रतिक्रिया