वाग्मती प्रदेश सञ्चित कोषमा ४३ प्रतिशत मात्रै राजस्व

राम्रो अनलाइन     १० भदौ २०७८, बिहिबार
वाग्मती प्रदेश सञ्चित कोषमा ४३ प्रतिशत मात्रै राजस्व

मकवानपुर– वाग्मती प्रदेश सञ्चित कोषमा ४३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । अपेक्षितमध्ये ४३ प्रतिशत अर्थात् ८८ करोड ९५ लाख २९ हजार मात्रै राजस्व संकलन भएको प्रदेशस्थित सार्वजनिक लेखा समितिले जनाएको छ । उल्लिखित रकम बितेको आर्थिक वर्षमा प्रदेशका स्थानीय तहद्वारा राजस्व बाँडफाँटअन्तर्गतको हो ।  

गत आवमा नदीजन्य पदार्थको राजस्व बाँडफाँटअन्तर्गत वाग्मती प्रदेशस्थित  स्थानीय तहद्वारा २ अर्ब पाँच करोड ६५ लाख रुपैयाँ अपेक्षित गरिएको थियो । अपेक्षितभन्दा ५७ प्रतिशत कम रकम सञ्चित कोषमा जम्मा भएको समितिका सभापति न्हुन्छेनारायण श्रेष्ठले बताए । ‘अपेक्षितभन्दा निकै कम राजस्व संकलन भएको छ, समितिले स्थानीय तहलाई ताकेता गरिरहेको छ,’ उनले  भने,  केही स्थानीय तहले बुझाउने आश्वासन दिएका छन् । 

वाग्मती प्रदेशमा एक सय १९ स्थानीय तह छन् । कोषको लक्ष्य बर्सेनि अनपेक्षित बन्दै गएको छ । प्रदेशस्थित स्थानीय तहद्वारा नियमित रकम जम्मा नहुँदा विगत तीन वर्षदेखि नै लक्ष्यअनुसार अपेक्षित सफलता प्राप्त नभएको समितिले जनाएको छ । गत आव  २०७७÷०७८ को अन्त्यसम्म जम्मा ३३ प्रतिशत राजस्व मात्रै कोषमा जम्मा भएको थियो । सभापति श्रेष्ठका अनुसार कोषमा रकम जम्मा भइरहेकाले भदौ महिनासम्ममा ६० प्रशित पुग्ने समितिले प्रक्षेपण गरेको छ । 

अघिल्ला दुई आवमा कोरोना भाइरस् सङ्क्रमणका कारण कोषमा अपेक्षित राजस्व जम्मा हुन नसकेको जनाइएको छ । अघिल्लो आव २०७६÷७७ मा नदीजन्य पदार्थको राजस्व बाँडफाँटअन्तर्गत वाग्मती प्रदेश सरकारको सञ्चित कोषमा २ अर्ब ५० करोड राजस्व संकलनको लक्ष्य लिइएकोमा ९८ करोड ६९ लाख ६५ हजार रकम मात्रै जम्मा भएको थियो । उक्त आवमा प्रदेशअन्तर्गतका करिव दुई दर्जन स्थानीय तहले कोषमा रकम जम्मा गरेका थिएनन् । उक्त कोषमा आव ०७५÷७६ मा १ अर्ब पाँच करोड राजस्व संकलन भएको भएको थियो ।
    
वाग्मती प्रदेश आर्थिक ऐनमा नदीजन्य पदार्थ, मनोरञ्जन तथा विज्ञापनको करमध्ये ६० प्रतिशत स्थानीय तह आफैँले सञ्चित कोषमा राखी ४० प्रतिशत प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गर्नुपर्ने नीति छ । 

स्थानीय तहले प्रदेश सञ्चित कोषमा रकम जम्मा नगरे प्रदेशमार्फत आउने चार शीर्षकको अनुदान रोकिने प्रावधान छ । ‘बितेका वर्षमा केही स्थानीय तहको समपूरक बजेट रोकिएको थियो, यसकारण पनि राजस्व बढ्नेमा विश्वस्त छौँ,’ श्रेष्ठले भने । स्थानीय तहले नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा)को बोलपत्रमार्फत बिक्रीको आम्दानीको ४० प्रतिशत राजस्व प्रदेशको सञ्चित खातामा जम्मा गर्नुपर्ने हुन्छ । स्थानीय तहले प्रदेश सञ्चित कोषमा नियमित रूपमा रकम जम्मा गर्न सक्ने भए पनि आर्थिक वर्षको अन्त्य नै कुर्नुपर्ने बाध्यता रहेको श्रेष्ठको भनाइ छ । 

प्रदेश आर्थिक ऐनमा नदीजन्य पदार्थ, मनोरञ्जन कर तथा विज्ञापनको कर स्थानीय तहले आफैँ उठाई प्रत्येक महिना बाँडफाँट गरी प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने र त्यसको विवरण समितिमा पठाउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया