काठमाडौं : महाधिवेशन कहिलेसम्म सार्ने भन्ने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक फरक प्रस्ताव अगाडि सारेका छन् । देउवा पक्षबाट महामन्त्री पूर्णबहादुर खड्काले आगामी मंसिरसम्म महाधिवेशन सार्ने गरी नयाँ कार्यतालिका ल्याउने प्रस्ताव राखेका थिए ।
तर वरिष्ठ नेता रामचन्द्र पौडेलले असोजमै महाधिवेशन सम्पन्न गर्ने गरी भदौभित्र वडा अधिवेशन सुरु गर्ने गरी नयाँ कार्यतालिका बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।
नेता मिनेन्द्र रिजालले नयाँ कार्यतालिका ल्याउने सहमति भएपनि वडा अधिवेशन कहिलेबाट सुरु गर्ने भन्नेबारे समझदारी नभएको बताए । उनले भने, भोलि साउन २८ गते हुँदैछ । भदौ १६ मा महाधिवेशन हुने कुरा त भएन । तर अब वडा अधिवेशन कहिले सुरु गर्ने भन्नेमा विषयमा सहमति भएको छैन । यसमा फरक मत छ ।
यस विषयमा समझदारी जुटाउन केन्द्रीय कमिटी बैठकअघि शीर्ष नेताबीच छलफल हुने रिजालले बताए । भोलिको केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गर्ने पूर्वनिर्धारित एजेण्डा छ ।
यस्तै काँग्रेस वरिष्ठ पौडेलले असोजसम्म महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउनुपर्ने बताए ।
उनले भने, क्रियाशील सदस्यता टुंगो नलागेकाले केन्द्रीय सदस्यको एजेण्डा अन्योलमा छ । महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका पनि अन्योलमा छ । क्रियाशील टुंगो नलगाइ कार्यतालिका र निर्देशिकामा आउन सक्दैन । किनभने निर्देशिकामा क्रियाशील सदस्य संख्याको अनुपात भन्ने कुरा छ । क्रियाशील टुंगो नलगाइ कति अनुपात भन्ने ? समस्या छ ।
क्रियाशील नटुंग्याइकन महाधिवेशनको कार्यतालिका आउन नसक्ने पौडेलले बताए । उनले भने, दशै अगाडि महाधिवेशन सक्नै पर्छ । विधानलाई हेला गर्न पाइँदैन । संविधानलाई उपेक्षा गर्ने पाइँदैन, उनले भने ।
तर क्रियाशील सदस्यता टुङ्ग्याएर मात्र सोही अनुसार नयाँ कार्यतालिका ल्याउनुपर्ने पौडेलले बताए । उनले भने, कार्यतालिका मात्र ल्याएर क्रियाशील सदस्यता टुंगिएन भने त्यो कार्यतालिकाले पनि पहिलेकै जस्तो हावा खान्छ, पौडेलले रातोपाटीलाई भने,पहिलेका कार्यतालिकाले जसरी हावा खाएर कार्यान्वयन हुन सकेन । क्रियाशील नटुंग्याइ ल्याइए यो कार्यतालिका पनि त्यही अवस्थामा पुग्छ । क्रियाशील सदस्यता टुंग्याएपछि मात्र कार्यतालिको अर्थ हुन्छ ।
तर महामन्त्री पूर्णबहादुर खड्काले भने भोलिको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका पेस हुने बताए ।
उनले भने, भोलि कार्यतालिका र निर्देशिका पेस हुन्छ । निर्देशिकाको काम गर्ने साथीहरु लागि राख्नुभएको छ ।
९९ प्रतिशत क्रियाशील सदस्यता विवाद टुंगिएकाले महाधिवेशन कार्यतालिका ल्याउने उनको दाबी छ ।
उनले भने, कार्यतालिकाबारे आज छलफल भएपनि भोलि बैठक अगाडि छलफल गरेर कार्यतालिका पेस हुन्छ ।
उनका अनुसार निर्वाचन समितिले मागेको समय अनुसार कार्यतालिका हेरफेर हुन्छ । निर्वाचन समितिले वडा अधिवेशनदेखि महाधिवेशन गर्ने मागेको समयलाई मुल आधार बनाएर महाधिवेशनको नयाँ कार्यतालिका मैले पेस गर्छु, खड्काले भने ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले क्रियाशील सदस्यको सूची प्राप्त गरेको ५६ दिनमा वडा अधिवेशनदेखि महाधिवेशन गर्न सकिने बताए ।
उनले भने, हामीले ५६ दिनको समय मागेका छौं । निर्वाचन समितिको धेरै काम हुन्छ । ५६ दिन त चाहिन्छ नै । किन भने वडा क्रियाशील सदस्यताको सूची पाएको २० दिनपछि मात्र वडा अधिवेशन गर्न सकिन्छ ।
उनका अनुसार केन्द्रीय समितिबाट अनुमोदन भएपछि निर्देशिका छापेर देशभर वितरण गर्नुपर्छ । निर्वाचन प्रतिनिधि खटाउँदा जनसंख्याका हिसाबले प्रतिनिधित्व हुने भनिएपनि त्यसको डाटा तयार हुन सकेको छैन ।
त्यसका लागि पार्टी विधानका केही बुँदामाथि बाँधा अड्काउ फुकाउको निर्णय लिनुपर्ने छ । त्यसको मस्यौदा तयार गरी केन्द्रीय समितिले निर्णय गर्नुपर्छ ।
निर्वाचन समितिका अनुसार त्यो काम पनि हुन सकेको छैन । निर्वाचन समितिले विभिन्न प्रमाणपत्र र डकुमेन्टको व्यवस्थापन गरी छाप्ने काम हुन बाँकी छ ।
अहिलेसम्म ७७ वटै जिल्लाका लागि निर्वाचन अधिकृत तोक्ने काम पनि हुन सकेको छैन । ७७ जिल्लाबाट प्रत्येक वडाका लागि मतदान अधिकृत तोक्ने काम बाँकी छ । आफूहरुले उक्त काम गर्न २० दिन समय चाहिने यादवले बताए ।