आजबाट स्वस्थानी व्रत सुरु, एक महिनाभर कथा वाचन हुने

राम्रो अनलाइन     १५ माघ २०७७, बिहिबार
आजबाट स्वस्थानी व्रत सुरु, एक महिनाभर कथा वाचन हुने

आजबाट हिन्दू धर्मावलम्बीको श्रीस्वास्थानी व्रत कथा सुरु भएको छ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वास्थानी सुरु भएको हो ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर(घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

शालीनदीमा व्रत बस्नेको पीसीआर अनिवार्य

काठमाडौंको शालीनदीमा पनि स्वस्थानीको मेला सुरु भएको छ । साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला सुरु भएको हो ।

यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण शालीनदी मेलामा व्रत बस्ने व्रतालुको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । व्रतालुहरूको स्वास्थ्यलाई ख्याल गर्दै निमोनिया नभएको प्रमाण माग्नेदेखि निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठका अनुसार अघिल्ला वर्षमा चार सयभन्दा बढी व्रतालु सहभागी हुने सो मेलामा यस वर्ष बढीमा ५० जनालाई मात्र शालीनदी क्षेत्रमा व्रत बस्न अनुमति दिइएको छ । १५ जना पुरुष र ३५ जना महिलालाई मात्रै यस वर्ष शालीनदीमा व्रत बस्न मिल्ने गरी व्यवस्थापन मिलाइएको हो ।

प्रतिक्रिया