सुजिताको शव परीक्षणका लागि काठमाडौँ पठाइयो 

राम्रो अनलाइन     २२ असार २०७८, मङ्गलबार
सुजिताको शव परीक्षणका लागि काठमाडौँ पठाइयो 

चितवन, २२ असार :  मृत फेला परेकी सुजिता भण्डारीको शवपरीक्षणका लागि काठमाडौँ पठाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले एम्बुलेन्समार्फत शव काठमाडौँ पठाएको हो । 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार बिहान शव पठाइएको हो । उनले भने, “त्रिवि शिक्षण अस्पतालमा फरेन्सीकका विशेषज्ञसमेत हुने भएकाले शव पठाएका हौँ ।” 
प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ । घटनास्थल नजीकै मृतकको मोबाइल फोनको सेट र कभर फेला परेको छ । थापाका अनुसार मोबाइलमा सिम भने छैन । मेमोरी कार्ड भेटिएको छ । यसअघि घटनास्थलमा एउटा बोतलमा सेतो पदार्थ र झोला भेटिएको थियो । 
 
राप्ती नगरपालिका–३ घर भएकी २२ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । उनी असार ११ गते बिहान ६ बजे घरबाट साथीको घर जान्छु भन्दै हिँडेकी थिइन् । शवलाई भरतपुरतर्फ ल्याउने क्रममा सोमबार स्थानीयवासीले दिनभर राजमार्ग अवरुद्ध गरेका थिए । साँझ मात्रै आफन्तसँग सहमति गरेर शव ल्याइएको थियो । भण्डारीको हत्या भएको भन्दै आफन्त र स्थानीयवासीले यथाशक्य छिटो अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दै आएका छन् । 
 

प्रतिक्रिया