तिब्बतसँग सिमाना जोडिएका विगु र गौरीशङ्करका नागरिकलाई खोप लगाइने

राम्रो अनलाइन     १९ असार २०७८, शनिबार
तिब्बतसँग सिमाना जोडिएका विगु र गौरीशङ्करका नागरिकलाई खोप लगाइने

दोलखा, १८ असार : चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएका दोलखाको विगु र गौरीशङ्कर गाउँपालिकाका स्थानीय वासिन्दालाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाइने भएको छ । विगुका ४५ वर्ष माथिका र गौरीशङ्कर गाउँपालिकाका ४० वर्ष माथिका सबै स्थानीयलाई खोप दिइने भएको हो । 

दुई स्थानीय तहका नागरिकलाई यही असार २५ गतेदेखि २७ गतेसम्म सम्बन्धित पालिकाको स्वास्थ्य संस्था र खोप केन्द्रमा कोरोनाविरुद्धको पहिलो मात्रा भेरोसिल खोप लगाउने कार्यक्रम रहेको  जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताए । दुबै गाउँपालिकाका लागि सात हजार २०० भेरोसिल खोप प्राप्त भएको उनले जानकारी दिए । उनका अनुसार खोप लगाउन चाहने व्यक्रिले नागरिकता, मतदाता परिचयपत्र तथा स्थायी ठेगना खुल्ने सरकारी कागजात वा सम्बन्धित वडाको सिफारिस लिएर जानुपर्ने छ ।

जेठ २५ देखि २ असारसम्म भेरोेसिलको पहिलो खोप लगाएका जिल्लाभरका ६२, ६३ र ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिक र  सोही समयमा पहिलो खोप लागाएका अग्रपङ्तिमा खट्ने स्वास्थ्यकर्मी  सुरक्षाकर्मी र सञ्चारकर्मीलाई पनि दोस्रो खोप दिने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

प्रतिक्रिया