कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन गरिँदै

राम्रो अनलाइन     ३१ जेठ २०७८, सोमबार
कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन गरिँदै

कर्णाली, ३१ जेठ : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकारले आमसञ्चार गठन गर्न लागेको जानकारी दिएकी छिन्  । ‘पत्रकार आचारसंहिता र मिडियाप्रतिको विश्वसनियता’विषयमा आज भएको भर्चुअल छलफलमा उनले आमसञ्चार माध्यमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश आमसञ्चार प्रतिष्ठान गठन गर्ने प्रदेश सरकारको आगामी आव २०७८÷०७९ को नीति रहेको बताइन् । प्रतिष्ठान गठन सम्बन्धी विधेयक भने  निवर्तमान कानूनीमन्त्री नरेश भण्डारीको पालामा प्रदेशसभामा दर्ता भइसकेको छ । 

श्रमजिवी पत्रकारको स्वास्थ्य, सुरक्षा, उत्प्रेरणा र व्यावसायिक दक्षता विकास गर्न पत्रकार स्वास्थ्य बीमा र पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने, लोक कल्याणकारी विज्ञापनमा जोड दिने र नीतिमा नपरेका विषयमा बजेटमा समावेश गराईने उनको भनाइ थियो । उनका अनुसार संघीयतापछि सञ्चार क्षेत्रमा अपेक्षित परिवर्तन आएको र महिला पत्रकारहरुको सहभागिता बढ्दै गएका छन् । 

मध्यपश्चिम विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख युवराज शर्माले कर्णालीमा स्नाकोत्तर तहसम्मको पत्रकारिता भइरहेको जानकारी  दिँदै तेस्रो र चौथो सेमेष्टरमा अनुसान्धनमा जोड दिने बताए । नेपाल पत्रकार महासंघ कर्णालीका अध्यक्ष देवीराम देवकोटाले कर्णालीमा क्षमता अभिवृद्धिका कार्यक्रममा जोड दिन सरकारसँग माग गरिएको जानकारी दिए । 

प्रतिक्रिया