वृत्तचित्र बनाउन प्रदेश सरकारले सहयोग गर्ने

राम्रो अनलाइन     ३१ जेठ २०७८, सोमबार
वृत्तचित्र बनाउन प्रदेश सरकारले सहयोग गर्ने

हेटौंडा, ३१ जेठ  : वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले पत्रकारलाई विभिन्न स्थानमा डकुमेन्ट्री बनाउन जाने खर्च दिने र उक्त डकुमेन्ट्री समेत सरकारले खरिद गरिदिने बताएका छन् । 

आज पत्रकार महासङ्घ वाग्मती प्रदेशको आयोजनामा हेटौंडामा भएको अन्तरक्रियामा मन्त्री पाण्डेले भने, “म पक्षपात नगरिकन सबै सञ्चारमाध्यम र सञ्चारकर्मीको विकासका निम्ती कार्य गर्नेछु ।’’

उनले सञ्चार क्षेत्रले गर्ने आलोचनाले सरकारका कामलाई सुधार्ने मौका दिने भएकाले आफूले यसलाई सकारात्मक रूपमा लिने बताए । उनले पक्ष वा प्रतिपक्षमा समाचार लेखेको आधारमा कुनै पनि विभेद नहुने समेत जनाए । संचारकर्मीलाई लोककल्याणकारी विज्ञापन, लेखनवृत्ति, अध्ययन भ्रमणलगायतका क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत रहेको उनको भनाइ छ । मन्त्री पाण्डेले सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिइ अन्य उद्योगले पाउने सुविधा उपभोग गर्ने व्यवस्था मिलाउने बताए । 

मन्त्री पाण्डेले एक सय वाटका रेडियोलाई पनि प्रदेशमै समेट्ने र सुविधा उपलब्ध गराउन दायरा फराकिलो बनाउन चाहेको जानकारी दिए । उनले सबै खाले सञ्चारमाध्यमलाई समेट्ने बताउँदै अनलाइन पत्रकारितालाई सहयोग गर्ने कामलाई अघि बढाउने प्रतिबद्धता जनाए । सरकारले ल्याएको छापाखनामा बाह्य काम नगर्ने बताउँदै उनले यसले सरकारी कागजातको गोपनीयता कायम हुने बताए । 

महासङ्घका प्रदेश अध्यक्ष शिव देवकोटाले प्रदेश सरकारसँग सहकार्य गर्न तयार गरेको भन्दै लोककल्याणकारी विज्ञापन, सञ्चारग्राम स्थापना, सञ्चारमाध्यमको प्रवर्द्धन जस्ता काम प्रदेश सरकारबाट हुनुपर्ने बताए ।
 

प्रतिक्रिया