मोडल निशालाई आर्थिक सहयोग

राम्रो अनलाइन     २९ जेठ २०७८, शनिबार
मोडल निशालाई आर्थिक सहयोग

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले आर्थिक सहयोग गर्ने भएको छ । कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम निशाका बुबालाई हस्तान्तरण गरिने कोषले जनाएको छ ।

यस्तै म्युजिक भिडियो कलाकार संघले निशालाई २० हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष शंकर बिसीसहितको टिम नर्भिक अस्पताल पुगेर उक्त रकम निशाका बुबालाई हस्तान्तरण गरेको हो ।

तीन वर्ष अगाडी अभिनय कोर्ष पढ्न भारत पुगेकी निशा देहरादुनमा दुर्घटनामा परेकी थिइन् । दुर्घटनापछि केही समय उनको भारतमै उपचार भएको थियो । तर, कमजोर आर्थिक अवस्थाका कारण परिवारले उनलाई नेपाल ल्याएको थियो । नेपाल फर्किएपछि पनि केही महिना अस्पतालमा उनको उपचार भएको थियो । तर, आर्थिक अवस्थाकै कारण उपचार गर्न गाह्रो भएपछि उनी घरमै थिइन् । घरमा उनको स्वास्थ्य अवस्था झनझन बिग्रिदै गएको थियो ।

घरमा अर्धचेत अवस्थामा रहेकी निशाको तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि धेरैले सहयोगका लागि चासो देखाएका थिए ।

गत बिहीबारदेखि भने निशाको नर्भिक अस्पतालमा उपचार भईरहेको छ । नवजिवन परोपकार संस्था र नर्भिक अस्पतालकी मेघा चौधरीको पहलमा निशाको निःशुल्क उपचार शुरु भएको हो ।

निशाले तीज दर्जन बढी म्युजिक भिडियो, एक भोजपुरी चलचित्र तथा केही टेलिसिरियलमा काम गरेकी थिइन् ।

प्रतिक्रिया