धनगढी : सुदूरपश्चिम प्रदेश सभाका नेकपा ९एमाले०का का १७ सांसदलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले स्पष्टीकरण सोधेको छ।
एमाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले प्रदेश सभामा संसदीय दलका नेता प्रकाशबहादुर सिंहसहित १७ सांसदलाई स्पष्टीकरण सोधेका हुन्। उनीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन पत्र पठाएको सचिव रावलले जानकारी दिए।
बुधबार सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिएका थिए। माधवकुमार नेपाल पक्षका १७ सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका थिए। ओली पक्षले भने विपक्षमा मतदान गरेको थियो।
एमाले स्थायी समिति र प्रदेश कमिटीले नेकपा ९माओवादी केन्द्र०को नेतृतवमा रहेको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो। त्यस्तै, प्रदेश कमिटीले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिन निर्देशन दिएको थियो।
तर, नेपाल पक्षको बहुमत रहेको प्रदेश संसदीय दलले मुख्मयन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो। त्यहि अनुसार नेपाल पक्षका १७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए।
पार्टी नीति र निर्देशन विपरीत मुख्यमन्त्री भट्टलाई सघाएकाले स्पष्टीकरण सोधिएको एमाले प्रदेश कमिटी सचिव रावलले बताएका छन्। उनीहरूले समयमै स्पष्टीकरण नबुझाएमा वा चित्त बुझ्दो स्पष्टीकरण नआएमा कारबाही गरिने उनको भनाइ छ।
स्पष्टीकरण पत्रमा पनि पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गर्ने चेतावनी दिइएको छ।