ओलीको प्रस्ताव जालझेलपूर्ण छ : बामदेव

राम्रो अनलाइन     २५ जेठ २०७८, मङ्गलबार
ओलीको प्रस्ताव जालझेलपूर्ण छ : बामदेव

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीले गरेको पार्टी एकताको प्रस्ताव जालझेलपूर्ण भएको बताएका छन्। 

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै गौतमले अध्यक्ष ओलीको प्रस्तावमा कुटिल चातुर्यता र जालझेलपूर्ण भाषाशैली प्रयोग भएको बताएका हुन्। 

गौतम सर्वोच्चमा दायर रिटमा एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिनुपर्ने अध्यक्ष ओलीको प्रस्तावमा पनि असहमत देखिएका छन्।

पार्टीभित्र समस्या भए पनि एकता सम्भव भएको उनको भनाइ छ। गौतमले भनेका छन्, “पार्टीभित्र देखिएका सबै विषयलाई पुनः एकताबद्ध भएपछिको पार्टी कमिटी बैठकबाट मात्र समाधान गर्न सकिन्छ । त्यसैले स्थायी कमिटी बैठक बसेर त्यहीँ छलफल गरौं।” 

२३ जेठमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे प्रस्ताव अघि सारेका थिए। जसमा एमालेलाई ३ जेठ २०७५ अघि फर्काउने र सर्वोच्चको रिटमा प्रयोग भएको एमाले सांसदहरुको हस्ताक्षर फिर्ता गर्ने उल्लेख थियो। 

२४ जेठमा एमालेको माधव नेपाल समूहले उक्त प्रस्ताव जालझेल, अन्योल र अल्मल्याउने खालको भएको निष्कर्ष निकालेको थियो। 


प्रतिक्रिया