सीमा नाकामा हेल्थडेस्कको संरचना बनाइने

राम्रो अनलाइन     २२ जेठ २०७८, शनिबार
सीमा नाकामा हेल्थडेस्कको संरचना बनाइने

झापा, २१ जेठ : सरकारले विभिन्न ११ वटा सीमा नाकामा सुविधासम्पन्न हेल्थडेस्क सञ्चालनका लागि दिगो संरचना निर्माण गर्ने भएको छ । विश्व आप्रवास सङ्गठन (आइओएम) ले बिहीवार र शुक्रबार काँकडभिट्टा नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीका लागि आयोजना गरेको विशेष अभिमुखीकरण तालिमका अवसरमा सो जानकारी दिइएको हो । 

विश्व आप्रवास सङ्गठन (आइओएम) ले गत बिहीवार र शुक्रबार काँकडभिट्टा नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीका लागि आयोजना गरेको विशेष अभिमुखीकरण तालिमका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखाका अधिकृत डा अमृत पोखरेलले सो जानकारी दिनुभएको हो । 

उनले सबै स्थल सीमा नाका र त्रिभुवन विमानस्थलको हवाई नाकामा आवागमन गर्नेहरुको अनिवार्य स्वास्थ्य जाँच गरी रेपिड डाइग्नोस्टिक टेस्ट (एन्टिजेन) विधिबाट कोभिड–१९ को परीक्षण भइरहेको बताए । उनले काँकडभिट्टा नाकामा हेल्थ डेस्कका लागि कोभिड डेडिकेटेड एम्बुलेन्स सेवा र सुविधासम्पन्न भवनको खाँचो औंल्याए । 

उनका अनुसार हेल्थडेस्क भवन निर्माणका लागि सरकारले रु ५० लाख बजेट छुट्याएको छ । ‘‘२१ औं शताब्दीमा नयाँ नयाँ रोगहरु आउँछन्, पुराना रोगहरु पनि फर्केर आइरहेका छन्,’’ डा पोखरेलले भने, ‘‘कोभिडले पनि छिटै छोडिहाल्ला भन्ने देखिदैन । कोभिडसँगै जिउने कला हामीले सिक्न जरुरी छ ।’’

स्रोत साधनको कमीले नाकाको व्यवस्थापन फितलो भए तापनि हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीले जोखिम मोलेर कोभिड नियन्त्रणमा महत्वपूर्ण योगदान दिइरहेको उनको भनाइ छ । महाशाखाको टोलीले काँकडभिट्टा र पशुपतिनगर नाकाको निरीक्षण गरेको जनाएको छ । उनले समुदायले स्वास्थ्य मापदण्डको पालना नगरे आउँदो कात्तिकतिर कोभिड सङ्क्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिए । 


 

प्रतिक्रिया