काठमाडौँ–निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको आयोग स्रोतले जानकारी दियो ।
उक्त स्रोतका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सगुनशमशेर राणा पक्षमा थिए । डा.जानकी कुमारी तुलाधारले भने फरक मत राखेकी थिइन् । उनको फरक मत रहेको थियो, संविधान÷कानून अनुसार जानुपर्छ भन्ने उनको मत थियो ।
थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिँदा आयोगले नेपाली कांग्रेसको विधानलाई नै प्रमुख आधार लिइएको आयोग उच्च स्रोतले बतायो । ‘दलको विधानको धारा १७ (२) लाई प्रमुख आधार मानेर विशेष महाधिवेशनबाट अद्यावधिक गर्नका लागि पेस भएको कागजातसहितको प्रमाणहरूलाई मुख्य आधार लिइएको छ,’ आयोग स्रोतले भन्यो ।
पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गरेको थियो ।
विशेष महाधिवेशनबाट भएको निर्णयअनुसार विवरण अद्यावधिक गर्न सभापति थापासहितका पदाधिकारीले बिहीबार आयोगमा निवेदन दिएका थिए ।