‘समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरिन्छ’

राम्रो अनलाइन     ०५ पुस २०८२, शनिबार
‘समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरिन्छ’

चितवन–ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणका कामलाई प्राथमिकता नदिने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गर्नेतर्फ सरकार लागेको बताएका छन्। 

उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले तीन हजार बढी सडक तथा पुलमा ठेक्का लागेको बताए।

उनले भने, “तीन हजारभन्दा बढी सडक र पुलको ठेक्का छ, कुनै ठाउँमा त ठेकेदार कहाँ छ भन्ने पनि छैन, काम गर्नुपर्छ नभए ठेक्का तोड्छौँ भन्ने अवस्थामा हामी छौँ ।” जनताले दुःख पाएको बताउँदै उहाँले जनताको आवश्यकताअनुसार सरकारले काम गर्ने बताए। विकास निर्माणसँगै नीतिनिर्माणमा परिवर्तन गर्न यो सरकारले खोजेको बताउँदै उहाँले देशलाई संस्थागत रुपमा निकास दिन जरुरी रहेको बताए।

उनले सप्तगण्डकी नदीमा पानी भण्डारण गरी जलाशय निर्माण गरेर विद्युत् उत्पादनसँगै विभिन्न पर्यटकीयस्थलको विकास गरिने बताए । पोखरा, भरतपुर र लुम्बिनी क्षेत्रलाई इलेक्ट्रिसिटी ग्रिन करिडोरका रूपमा विकास गर्ने काम अघि बढिरहेको उनले जानकारी दिए। शक्तिखोर औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिलाई सहज बनाइने उल्लेख गर्दै उहाँले यहाँ औद्योगिक क्षेत्र स्थापना हुनुमा आफू पनि सकारात्मक रहेको बताए।

आगामी निर्वाचनपछि आउने नयाँ सरकारले नयाँ अनुहार र नयाँ सोच ल्याउनुपर्ने उल्लेख गर्दै उनले देशलाई समृद्धिको बाटोमा हिँडाउनसक्ने शक्ति आउनु आवश्यक रहेको बताए। जनताले देशलाई ठोस परिणाम दिनसक्ने नयाँ शक्ति सचेत रूपमा छान्नुपर्नेमा उनले जोड दिए। सो अवसरमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमनकुमार श्रेष्ठले जिल्लाका समग्र व्यवसायीको समस्याका बारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया