काठमाडौँ–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेका बताउँदै केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेका बताएका छन्।
नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई आज सम्बोधन गर्दै उनले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताए।
“घोषणा भइसकेको निर्वाचन नै अहिलेको सहज विकल्प हो । जनता निर्वाचनका लागि तयार भइरहेका छन्”संयोजक दाहालले भने, “निर्वाचन बिथोल्ने वा निर्वाचनको प्रक्रियामा अघि बढ्ने जनता र राजनीतिक दलको चाहनालाई कसैले भ्रमित नगरोस् ।”
निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी सरकारको भएको जनाउँदै उहाँले संसद् पुनःस्थापनाको हल्ला चिरेर अघि बढ्नुपर्नेमा जोड दिए। “साँच्चै फागुन २१ गते निर्वाचन होला त ? मानिसहरुको मनमा संसद् पुनःस्थापना होला ? कि निर्वाचन होला भन्ने प्रश्न जन्मिरहेको छ”, उनले भने, “निर्वाचन नै सहज बाटो हो, निर्वाचनमार्फत नै मुलुकलाई नयाँ दिशा दिन सकिन्छ ।” उहाँले संसद् पुनःस्थापनाको बाटो सहज नभएको बताए।
संयोजक दाहालले भ्रष्टाचारविरुद्ध अभियान चलाउने, सुशासनको पक्षमा लड्ने, उत्पीडित जाति, वर्ग, क्षेत्र र समुदायको पहिचान र अधिकारका लागि योगदान गर्ने नै जेनजी पुस्ताको अभिभावक र प्रतिनिधि भएको बताए।
देशको वाम इतिहासमा आफूहरुले बृहत् एकताको नयाँ पहल गरिरहेको जानकारी दिँदै उनले देशभरका अन्य वामपन्थी शक्तिलाई पनि एकता प्रक्रियामा सामेल हुन आह्वान गरे।