एमालेमा छ लाख ६० हजार सदस्यबाट प्रतिनिधि चयन हुने

राम्रो अनलाइन     १४ कात्तिक २०८२, शुक्रबार
एमालेमा छ लाख ६० हजार सदस्यबाट प्रतिनिधि चयन हुने

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि छ लाख ६० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि चयन हुनेछन् । 

एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने ती सङ्गठित सदस्यले २०८२ चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसकेको बताए ।  

उनले भने,‘हामीले सबै सङ्गठित सदस्यको प्रमाणीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएका छौँ । करिब छ लाख ६० हजार सङ्गठित सदस्यबाट नै प्रतिनिधि छनोट हुनेछन् ।’ 

भोलि बस्ने सचिवालय बैठकले सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाउने विभाग प्रमुख अधिकारीले जानकारी दिए । यसअघि पार्टीको १०औँ महाधिवेशनका लागि आठ लाख ५० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गरिएका थिए । एमालेको ११ औं महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा तोकिएको छ । 

प्रतिक्रिया