काठमाडौँ । एमालेभित्रको माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा आफू पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने कि नदिने भन्ने विषयमा मतान्तर देखिएको छ ।
अहिले नै पार्टीलाई विभाजित गर्दा नयाँ आन्दोलन विकास गर्न सकिन्छ कि सकिँदैन भन्ने दृष्टिकोणमा मतैक्यता नरहेको एक नेता बताउँछन् ।
स्रोतका अनुसार खनाल–नेपाल समूहमा नेता नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, बेदुराम भुसाललगायत नेताहरू ओलीसँग मिल्नै सकिँदैन, नयाँ पार्टी, आन्दोलन निर्विकल्प रहेको बताउँदै आएका छन् ।
सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेताहरू मिल्न सकिन्छ भने मध्यविन्दुको खोजी गर्नुपर्छ भनेर अहिले पनि लागिरहेका छन् ।
मत विभाजनकै कारण २७ गते सामूहिक राजीनामाबाट खनाल–नेपाल समूह पछि हटेको हो । फेरि आज बहुमत पुर्याउने अन्तिम दिन राजीनामा दिने भनेर उनीहरू लागिरहेका छन् । यो निर्णयले सम्भावित दुर्घटना टारेको उनको ठहर छ ।
यता ओली भने अन्य नेतालाई वास्ता नगरे पनि नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टसँग निरन्तर संवादमा छन् ।
भट्टराईलाई त प्रदेश नम्बर–१ को इन्चार्ज बनाएर झापा–१ बाट चुनाव लड्ने वातावरण बनाउनेसम्मको प्रस्ताव गरेको ओलीले गरेका स्रोतहरु बताउँछन् । खनाल–नेपाल समूहका बाँकी शीर्षस्थलाई ओलीले बेवास्ता गर्दै आएका छन् ।
वैशाख २३ गते राति प्रधानमन्त्री केपी शर्मा ओलीले घनश्याम भुसाल, योगेश भट्टराईसँग लामो छलफल गरेका थिए । त्योभन्दा अघि संगठन विभाग प्रमुख तथा अर्थमन्त्री विष्णु पौडेलले घनश्याम भुसाल, योगेश भट्टराई र सुरेन्द्र पाण्डे, गोकर्ण विष्टसँग छुट्टाछुट्टै छलफल गरिरहेका स्रोतहरू बताउँछन् ।
भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायत प्रभावशाली नेताहरूलाई बालुवाटारले संवादको पहल गरेको छैन । रावल, ज्ञवाली, शाक्यविहीन एमाले नै उनीहरूको चाहना–रुचि रहेको ओलीपक्षीय बताउँछन् ।
आज राष्टपतिले बुहमतीय सरकार बनाउन दिएको अन्तिम दिनमा नेपाल समूहका सांसदहरूले सामूहिक राजीनामा दिने भन्ने कुरा आइरहेको छ । त्यही भएर मध्यमार्गी नेताहरूलाई रोक्न बिहानैदेखि उपमहासचिव विष्णु पौडेल नेता सुवासचन्द्र नेम्वाग्, ईश्वर पोखरेल लागिरहेको स्रोतहरू बताउँछन् ।