सरकार र दलहरूबीच वालुवाटारमा बैठक

राम्रो अनलाइन     ०४ कात्तिक २०८२, मङ्गलबार
सरकार र दलहरूबीच वालुवाटारमा बैठक

काठमाडौं–प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरु भएको छलफलमा विभिन्न दश राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाइएको छ ।

आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाका चुनावको मिति तोकिएको छ। चुनावी सुरक्षाको विषयलाई लिएर राजनीतिक दलहरूले संशय व्यक्त गरिरहेका बेला प्रधानमन्त्री कार्कीले दलहरूसँग संवादको सुरुवात गरेकी हुन्।

कार्कीले प्रधानमन्त्री भएपछि पहिलो पटक राजनीतिक दलहरूसँग सामुहिक छलफल गरेकी हुन्। कार्की जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी हुन् ।

यसअघि प्रधानमन्त्री कार्की राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा भने सहभागी भएकी थिइन्।

खासगरी नेकपा एमालेले आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुन नसक्ने निष्कर्ष निकालेको छ । उसले निर्वाचन हुन नसक्ने निष्कर्ष निकाल्दै संसद् पुर्नस्थापनाको माग राखेको छ ।

यो अवस्थामा प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको हो । बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई पनि बोलाइएको छ ।

दुवै जना पर्यवेक्षकको रुपमा सहभागी हुन भनिएको हो ।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी हुने भएका छन् ।

जनमतका नेता चन्दन सिंह समेत सहभागी छन् ।

कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, एमालेबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी भएका छन् ।

रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन् ।

एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला गएका छन् ।

प्रतिक्रिया