पुग्ला त गठबन्धनको बहुमत ? 

राम्रो अनलाइन     ३० वैशाख २०७८, बिहिबार
पुग्ला त गठबन्धनको बहुमत ? 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली २७ वैशाखमा संसद्बाट विश्वासको मत लिन असफल भएर पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज राति ९ बजे सकिँदै छ ।

प्रधानमन्त्रीको दाबीसहित गठबन्धन सरकार गठन गर्न प्रयासरत कांग्रेसले सिंगो जसपालाई गठबन्धनमा सामेल गराउने र झलनाथ–माधव पक्षसँग सहकार्य गर्ने प्रयास गरे पनि दुवै पक्षबाट ठोस जवाफ नआउँदा बुधबार साँझसम्म कुनै परिणाम निकाल्न सकेन । कांग्रेसले गठबन्धन सरकारमा सहमति जुटाउन प्रयास जारी राखेको छ । 

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले नयाँ सरकार गठनका लागि पहल भइरहेको र कुनै पनि सम्भावनाको अन्त्य भइनसकेको बताए । ‘पार्टी निर्णयअनुसार जसपा र एमालेकै साथीहरूसँग छलफल गरिरहेका छौँ । लोकतान्त्रिक आन्दोलनमा सहकार्य गरेका शक्तिहरूसँग सहकार्यको सम्भावना कायम नै छ । सरकार पूर्ण रूपमा असफल भइहेको र लोकतन्त्र जोगाउने महत्वपूर्ण अवसर पनि भएकाले सबैको साथ रहने अपेक्षा गरेका छौँ । तोकिएको समयसीमाभित्र ठोस निष्कर्षमा पुगिन्छ,’ उनले भने । 

उनले राष्ट्रपतिले तोकेको समयसीमा सकिन करिब २४ घन्टा बाँकी रहँदासम्म कुनै सहमति नभएको स्वीकार गरे । जसपा र झलनाथ–माधव पक्षले आन्तरिक ‘पोजिसन क्लियर’ नगर्दा मंगलबार बस्न नसकेर बुधबारका लागि तोकिएको सर्वदलीय बैठकसमेत कांग्रेसले राख्न सकेन । 

गठबन्धनका लागि कांग्रेसलाई माओवादी केन्द्र र जसपाकै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको भने सुरुदेखि नै साथ रहँदै आएको छ । तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले गठबन्धन सरकारमा सहभागी नहुने, बरु प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने भनेपछि कांग्रेसलाई बहुमत पुर्‍याउन अप्ठ्यारो भइरहेको छ । 

गठबन्धनका बलिया सारथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष यादवले महन्थ–राजेन्द्र पक्षलाई सरकार गठनमा सहभागी गराउने जिम्मवारी देउवालाई नै दिएका छन् । तर, देउवा महन्थ–राजेन्द्र पक्षबीच बुधबार साँझसम्म प्रत्यक्ष संवाद नै हुन सकेन । यद्यपि देउवानिकट कांग्रेसका नेताहरू भने विभिन्न विकल्पसहित महन्थ–राजेन्द्रसँग छलफल गरिरहेका छन् । 

कांग्रेस नेता खाणले पनि छलफल भइरहेको र उनीहरूले सार्वजनिक रूपमा राखिरहेका मधेस आन्दोलन र नागरिकता विधेयकलगायत माग अगाडि सारिरहेको बताए । 

सत्ता समीकरणमा निर्णायक जस्तो देखिएको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठनको विषयमा दुई धारमा बिभाजित भएपछि नयाँ सरकारको नेतृत्व गर्न कस्सिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अप्ठ्यारोमा परेको छ । त्यसैले कांग्रेस अब एमालेको माधव नेपाल पक्षसँग सहकार्यको हात बढाउने रणनीतिमा जुटेको बुझिएको छ ।

एमाले विभाजन नहुँदा बहुमतको सरकार बन्न गाह्रो 

एमाले विभाजन नहुँदा बहुमतको आधारमा नयाँ सरकार गठन हुने एउटा सम्भावना कठिन देखिएको छ । ओली नेतृत्वको सरकारलाई विस्थापन गर्नुपर्ने पक्षमा उभिएका माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिए भनेमात्र बहुमतको सरकार बन्ने सम्भावना  ।

प्रतिनिधिसभामा हाल कायम संख्या २७१ हो । नेपाल पक्षका २८ सांसद छन् । उनीहरुले राजीनामा दिएमा संसदमा तत्काल कायम संख्या २४३ हुन्छ । १२१ मत पाएमा बहुमत पुग्छ र विपक्षी गठबन्धनको नयाँ सरकार बन्न सक्छ ।

यसअघि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन गत सोमबार नै नेपाल पक्षका सांसदहरुले राजीनामा दिने चर्चा चलेको थियो । यद्यपि उनीहरुले तत्कालको अवस्थामा संसदमा अनुपस्थित भएर ओलीलाई असहयोग गर्ने निर्णय गरेका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन गत सोमबार एमालेको माधव नेपाल पक्षका २८ सांसदहरु संसदमा अनुपस्थित भएका थिए । विश्वासको मतमा मतदान गर्ने बेलामा जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने अर्का अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई पक्षकाले विपक्षमा मतदान गरेका थिए । कांग्रेस र माओवादी केन्द्र पनि विपक्षमै उभिएका थिए ।

गत सोमवार प्रधानमन्त्री ओलीको विश्वासको मतमा ९३ मत र उनको विपक्षमा १२४ मत आएको थियो । संसदमा तत्काल कायम संख्याको आधारमा बहुमत प्राप्त गर्न १३६ मत ओलीलाई आवश्यक थियो । तर ओलीले विश्वासको मत पाउन सकेनन् र सरकार कामचलाउमा परिणत भएको छ ।


 

प्रतिक्रिया