जलेको पार्टी कार्यालय अवलोकनपछि प्रचण्डको घोषणा- नयाँ र भव्य भवन बनाइनेछ

राम्रो अनलाइन     ३१ भदौ २०८२, मङ्गलबार
जलेको पार्टी कार्यालय अवलोकनपछि प्रचण्डको घोषणा- नयाँ र भव्य भवन बनाइनेछ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टी कार्यालय बनाउने घोषणा गरेका छन्। 

जेनजी आन्दोलनमा आगजनी भएको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको अवलोकनपछि मंगलबार उनले नयाँ र भव्य पार्टी कार्यालय बनाउने बताए। ‘क्षति त पुर्‍याइयो, पुग्यो,’ प्रचण्डले भने, ‘तर, अब म के भन्न चाहन्छु भने सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यको सहयोगमा पार्टीको नयाँ कार्यालय भवन बनाइनेछ।’

जेनजी आन्दोलनपछि केही दिन सैनिक ब्यारेकमा रहेका उनी पहिलो पटक सर्वाजनिक कार्यक्रममा सहभागी भएका हुन्।नेताहरूसहित कार्यालयमा पुगेका उनले कार्यालयमै रहेको सहिद स्मारकमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गरे।

आगजनीबाट केही माइन्युट र पुस्तकालय जोगिएको भन्दै त्यहाँका श्रमिकलाई धन्यवाद समेत दिए। ‘पार्टी कार्यालयका सबै कोठाहरु, मजदुर, वाइसीएलका कार्यालयको पनि अवलोकन हामीले गर्‍यौँ,’ प्रचण्डले भने, ‘निकै ठूलो क्षति भएको हामीले देख्यौँ। फेरि पनि पार्टीका माइन्युटहरू बचेको भन्ने सुने मैले।’

‘त्यसको लागि यहाँ काम गर्नेहरुलाई धन्यावद भन्न चाहान्छु। त्यसैगरी केही कम्प्युटर र पुस्तकालय बचेको रहेछ। त्यसको लागि पनि धन्यावद भन्न चाहान्छु,’ उनले थपे। दुई दिनमै पार्टीका युवाहरुले धेरै सफाइ गरिसकेको भन्दै उनले आभार समेत व्यक्त गरे। ‘अहिले सफाइ कार्यक्रममा तपाईं युवाहरु सहभागी हुनुभएको छ,’ प्रचण्डले भने, ‘दुई दिनमा नै तपाईंहरुले सफाइलाई एउटा स्तरमा पुर्‍याइसक्नुभएको रहेछ। त्यसको लागि सबैलाई धन्यवाद भन्न चाहन्छु।’ 

प्रतिक्रिया