३२औं आईजीपी बन्दै चन्द्रकुवेर

राम्रो अनलाइन     ०५ भदौ २०८२, बिहिबार
३२औं आईजीपी बन्दै चन्द्रकुवेर

काठमाडौँ–सरकारले स्वभाविक प्रक्रियामा चलखेल गरेन भने नेपाल प्रहरीको ३२ औं प्रहरी महानिरीक्षक (आइजीपी) तेह्रथुमका चन्द्रकुवेर खापुङ बन्ने छन् । यही भदौ १८ गते हालका आइजीपी दिपक थापाको कार्यकाल पूरा हुने र नयाँ आइजीपीमा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) खापुङ महानिरीक्षक बन्ने पक्का पक्की छ । आफ्नो ब्याचका अन्य प्रतिस्पर्धी नभएकोले उनी निर्बिकल्प महानिरीक्षक बन्न लागेका हुन्।

प्रहरीमा अहिले दानबहादुर कार्की, डा मनोज केसीसमेत चार जना खापुङका प्रतिस्पर्धी हुन् । तर, २०५२ कात्तिक २७ मा प्रहरी निरीक्षकमा नियुक्त खापुङभन्दा उनीहरु जुनियर हुन् । जसकै कारण सरकारले सिनियरलाई छोडेर जुनियरलाई आइजीपी बनाउन कठिन देखिन्छ । किनकि जुनियरलाई आइजीपी बनाउँदा सरकारप्रति थप बितृष्णा फैलने पक्का छ । खापुङ प्रहरीमा निस्कलङ्क छवि भएका अधिकृतका रुपमा पनि लोकप्रिय छन् । उनी २ महिना ९ दिनमात्र आइजीपी बन्ने र त्यसपछि भने एआइजीहरु दानबहादुर कार्की, डा मनोज केसीको टोलीबाट एक जना आइजीपी बन्ने छन् ।

नयाँ प्रहरी ऐन आउने र हालका आइजीपीसमेतको ६ महिना म्याद थप हुने चर्चाबीच तत्काल त्यो सम्भव देखिएको छैन । राज्य व्यवस्था समितिका सभापति नै नभएको अहिलेको अवस्थामा समिति सभापति चयन र त्यसले छलफलपछि गर्ने निर्णयपछिमात्र ऐन आउन सक्छ । तर, समयअभावले त्यो प्राय असम्भव छ ।

प्रतिक्रिया