तीजको मौलिक संस्कृतिको संरक्षणमा जोड

राम्रो अनलाइन     ०४ भदौ २०८२, बुधबार
तीजको मौलिक संस्कृतिको संरक्षणमा जोड

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले नयाँ पुस्ताले तीजलाई महिला एकता, सशक्तीकरण र मौलिक संस्कृतिको रुपमा मनाउनुपर्नेमा जोड दिएकी छिन्।
     
प्रेस चौतारी नेपालले आज आयोजना गरेको ‘तीज मिलन’ कार्यक्रममा उनले हिजोका पुस्ताले तीजलाई विभेदको पर्खाल तोड्ने अस्त्र बनाएको र अहिलेको पुस्ताले यसको मौलिकपनको संरक्षण गर्नुपर्ने बताएकी हुन्।

“हाम्रो पुस्ताले विभेदको पर्खाल तोड्न तीज पर्व मनायो”, पूर्वमन्त्रीसमेत रहेकी नेतृ अर्यालले भनिन्, “नयाँ पुस्ताले एकता, महिला सशक्तीकरण र तीजको मौलिक संस्कृतिको संरक्षण गर्दै मनाउनुपर्छ ।”
     
सचिव अर्यालले तीज पहिले घरको पीडा र वेदना माइतमा आएर साथीसङ्गीसँग मिलेर गीतमार्फत पोख्ने माध्यमका रुपमा रहेकोमा तीज पर्व आँसु र खुसीको पर्व भएको बताइन्।
     
नेकपा (एमाले) का प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तीज दिदीबहिनी, साथीहरुसँग भेटघाट गरी दुःखसुख साट्ने पर्वको रुपमा विकास हुँदै आएको र लैङ्गिक विभेद अन्त्यका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले तीजको अवसरमा आयोजित कार्यक्रममा व्यावसायिक पत्रकारिताको विषयमा छलफल गर्दै र दुःखसुख साट्नु सकारात्मक भएको बताइन्।
     
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले सधैँ काममा व्यस्त रहने महिला पत्रकारहरुले एकदिन भए पनि भेटघाट गरेर आपसमा भलाकुसारी गर्ने माध्यममा रुपमा कार्यक्रमको आयोजना गरेको बताए।

पत्रकार बबिता बस्नेतले महिला पत्रकारका सवाल र समस्यामा पनि यो पर्वका अवसरमा छलफल गर्न सकिने, भेटघाट, खुसी र उत्साहका रुपमा तीज पर्व मनाउनुपर्ने भनाइ राखिन्। कार्यक्रममा तीजसम्बन्धी सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो ।

प्रतिक्रिया