डोल्पा– डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका–३ स्थित धूपीचौरमा ठूलीभेरी नदीको बीचमा फसेका चार जना स्थानीयवासीलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
घटना आज बिहान भएको हो। दाउरा संकलनका लागि गएका ती व्यक्तिहरू अचानक बढेको नदीको बहावका कारण नदीको टापुमा फसेका थिए।
घटनापछि उद्धारका लागि नेपाली सेनाको संग्राम शार्दुल गुल्म, डोल्पाबाट टोली खटाइएको थियो। सेनाले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीहरूको सक्रिय सहयोगमा ती सबै व्यक्तिलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको जानकारी दिएको छ।
नदीको बहाव अझै तीव्र रहेको हुँदा सेनाले स्थानीय बासिन्दाहरूलाई सावधानी अपनाउन आग्रहसमेत गरेको छ।