चुरे संरक्षणका लागि दोहन रोकौँः उपप्रधानमन्त्री सिंह

राम्रो अनलाइन     ०७ साउन २०८२, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौँः उपप्रधानमन्त्री सिंह

महेन्द्रनगर– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे दोहन नरोकेसम्म चुरे संरक्षण हुन नसक्ने बताएका छन् । 

आज नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले मधेशमा अहिले पानीको समस्या देखिनुमा चुरे दोहन प्रमुख कारण रहेकाले चुरे संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिए । 

उपप्रधानमन्त्री सिंहले मधेशमा देखिएको पानीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए । मन्त्रिपरिषद् बैठकले मधेशमा देखिएको पानीको समस्या समाधानका बारेमा केही ठोस् निर्णय गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे । 

उपप्रधानमन्त्री सिंहले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाले कसैको हित नगर्ने बताउँदै भने, ‘एकले अर्कोलाई गाली गरेर पार्टी बलियो हुँदैन । हिलो छ्यापाछ्याप गर्नुभन्दा पार्टीभित्रका कमीकमजोरी र त्रुटि सच्याउनुपर्छ । अस्वस्थ प्रतिस्पर्धाले कसैलाई राम्रो गर्दैन ।’ 

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले पार्टीको सङ्गठन सुदृढीकरणमा सबैले सहकार्य र समन्वय गरी लाग्नुपर्नेमा जोड दिए । कांग्रेस कमजोर भए प्राप्त उपलब्धि गुम्ने खतरा रहेको भन्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न पार्टी बलियो बनाउनुपर्ने बताए ।

कार्यक्रममा स्थानीय सरकारका प्रमुखहरूले इतिहासमै यसपटक सहरी विकास मन्त्रालयबाट धेरै बजेट परेको भन्दै धन्यवाद दिएका थिए । उपप्रधानमन्त्री सिंहले आजै धनुषामा सहरी विकास मन्त्रालयले निर्माण गरेको सीता पुष्प वाटिका (रामसीता विवाह मण्डप) र महोत्तरीको जलेश्वरमा निर्मित बहुउद्देश्यीय भवनको समुद्घाटन गर्नेछन् । 

प्रतिक्रिया