‘नागरिकहरुको जीवनस्तर उकास्न पुँजीवादी व्यवस्था’

राम्रो अनलाइन     ०८ असार २०८२, आइतबार
‘नागरिकहरुको जीवनस्तर उकास्न पुँजीवादी व्यवस्था’

ललितपुर–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरुको जीवनस्तर उकास्ने उदारवादी र पुँजीवादी व्यवस्था भएको बताएका छन्। 

नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्रीय विभागद्वारा आयोजित बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टी सञ्चालन प्रणाली सम्बन्धमा लेबर पार्टीका नेता डा बच्चुकैलाश कैनीसँगको अन्तरक्रियामा महामन्त्री थापाले नेपाली कांग्रेसले तल्लो तहका नागरिकको जीवनस्तर उकास्न उदारवादी र पुँजीवादी व्यवस्थाका पक्षपोषण गरिरहेको बताएका हुन् ।  

“हामीले खोजेको समुन्नत नेपाल हो, हामी पुँजीवादी अर्थ व्यवस्थामा विश्वास गर्छौं, नाफालाई अपराध मान्दैनौँ, तल्लो तहमा रहेका नागरिकहरुलाई माथि उकास्न चाहन्छौँ, हामीले चाहेको व्यवस्थित प्रणालीमा कसैले पासपोर्ट र लाइसेन्स पाउन राजनीतिक दलको सदस्य हुनुपर्दैन”, उनले भने।

नेपालले अनुशरण गरेको प्रणाली भनेको बेलायती संसदीय प्रणाली भएको उल्लेख गर्दै उनले संसदीय प्रणालीमा आफ्नो ठूलो विश्वास रहेको बताए। उनले लेबर पार्टीसँग नेपाली कांग्रेसको भगिनी सम्बन्ध रहेको उल्लेख गर्दै पुराना पार्टीहरु सङ्कटमा भएको अवस्थामा बेलायतमा लेबर पार्टी पनि सङ्कटमा छ भन्ने देखिएको बताए। 

सन् १९९५ मा लेबर पार्टीले बेलायतमा निजी सम्पत्तिको विषय र उदारवादी विषयका कुरामा उत्साहित हुँदै गर्दा आफूहरुले पनि त्यहीँ विषय उठाएको बताए । “बेलायतको लेबर पार्टीले तीनवटा निर्वाचन जितेर आफ्नो धार कायम गरेको छ । हामीले पनि २०४८ सालमा जितेपछि उदारवादी नीति ल्याएकै हो, ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य र सडकका क्षेत्रमा पर्याप्त बजेट गएकै हो,” उनले भने।

बेलायतको लेबर पार्टीका नेता डा बच्चुकैलाश कैनीले आफू सन् २०१२ मा लेबर पार्टीसँग जोडिएको बताए। नेपाली मूलका कैनी प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य व्यवस्थापन विज्ञ र राजनीतिकर्मी हुन्। उनले कुनै समय नेविसङ्घ तनहुँको सचिव समेत भएका थिए।

त्यस अवसरमा बेलायतको लोकतन्त्र र लेबर पार्टीको सञ्चालन प्रणालीबारे विश्लेषण र अनुभव, लोकतन्त्रको अभ्यास, पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नीति निर्माण प्रक्रिया, विविध समुदायको सहभागिता र उत्तरदायित्वपूर्ण नेतृत्वबारे डा कैनीले अनुभव सुनाएका थिए।

प्रतिक्रिया