नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

राम्रो अनलाइन     ०१ असार २०८२, आइतबार
नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भुटानमा भएको १५ औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई आज स्वागत गरेको छ ।

राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा स्वागत गर्दै पदक दिलाउन सफल भएकामा बधाई प्रदान गरे । 

त्यसअघि आजै नेपाली टोलीलाई कार्यकारी समितिका सदस्य भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका प्रथम उपाध्यक्ष विजयलाल कायश्थसहित पदाधिकारी, खेलाडी, प्रशिक्षक, शुभचिन्तक, परिवारजनलगायतले अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

भुटानको थिम्पुमा गत जेठ ३० र ३१ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालले एक स्वर्ण र तीन रजतपदक जितेको थियो । नेपालबाट तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीको सहभागिता थियो ।

महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपाललाई स्वर्ण दिलाइन् । सोही स्पर्धामा शीला ठकुरीले रजतपदक जितिन् । पुरुष ५५ केजी तौल समूहमा शरद सुवालले रजत तथा पुरुष स्पोर्टस् फिजिक १७५ सेन्टिमिटर मुनी अवतार श्रेष्ठले रजत पदक जितेका हुन् । पुरुष स्पोर्टस् फिजिक १७५ सेन्टिमिटर माथि प्रनिश श्रेष्ठ पाँचौँ स्थानमा रहेका छन् ।

स्वागत कार्यक्रममा सदस्यसचिव घिसिङले शारीरिक सुगठनले राष्ट्रलाई चिनाउने क्रममा थुप्रै अन्तरराष्ट्रिय पदक जितिसकेको बताउँदै पदक जितेर सारा नेपालीलाई खुसी बनाएकामा खेलाडीलाई बधाई प्रदान गरे । शारीरिक सुगठन महासङ्घका प्रथम उपाध्यक्ष कायश्थले हरेक अन्तरराष्ट्रिय प्रतियोगतामा शारीरिक सुगठनले राष्ट्रलाई पदक दिलाउँदै आएको स्मरण गरे ।

टोलीसँगै अफिसियल रूपमा भुटान गएका शारीरिक सुगठनका सचिव दिनेशकुमार राजभण्डारीले सन् २०२७ मा नेपालमा विश्व शारीरिक सुगठन च्याम्पियनसिप आयोजनाबारे पनि भुटानमा छलफल भएको जानकारी दिए । व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल भुटान गएका थिए। 

प्रतिक्रिया