काठमाडौँ–अभिनेत्री वसुन्धरा भुसालले सहकारी अपचलनसम्बन्धी कथामा आधारित रहेर चलचित्र ‘महाभोज’ तयार भएको बताएकी छिन्। नेपालको पहिलो चलचित्र ‘आमा’ मासमेत अभिनय गरेकी अभिनेत्री भुसालले सहकारीका नाममा ठगिएका नागरिकको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताका विषयवस्तुलाई सशक्त रूपमा उठाइएको बताइन्।
उनले भनिन्, “सहकारीमा एक परिवारले बचत गरेको रकम अपचलन हुँदा त्यसले परिवारसँगै समाजमा पार्ने असरलाई देखाएका छौँ । म आफैँ सहकारी पीडित हुँ, मैले यसविरुद्ध आवाज उठाएँ, आन्दोलन गरेँ तर न्याय अझै पाएकी छैन । यो चलचित्र हामीजस्ता अन्यायमा परेका पीडितको आवाज हो । यसले एउटा बुलन्द आवाज उठान गर्छ भन्ने मैले विश्वास लिएकी छु ।”
अभिनेत्री भुसालले सहकारीमा जीवनभरको रकम बचत गरेका मानिसले रकम फिर्ता नपाउँदा जीविकोपार्जनमा कठिनाइ भोग्नुपरेको बताइन्। सहकारीमा बचत गरेको रकम अपचलन हुँदा आफूसहित केही नजिकका नातेदारलाई समस्या परिरहेका कारण उक्त चलचित्रले हालको एउटा सशक्त समस्यालाई उठान गरेको अभिनेत्री भुसालले बताइन्। “चलचित्रलाई समाजको ऐना पनि भनिन्छ, त्यसैले समसामयिक विषयलाई यस चलचित्रमा प्रस्तुत गरेका हौँ । यद्यपि, यो सहकारीको विषयमा मात्र केन्द्रित छैन”, उनले भनिन्।
चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायत कलाकारले अभिनय गरेका छन्।
उक्त चलचित्रलाई ‘क्लकवर्क क्रियसन’ र ‘पिक्चर फ्रेम’ ले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्र आजदेखि प्रदर्शनमा आएको छ ।