कोटेश्वर, बल्खु र सिफलबाहेकका ठाउँमा विरोधका कार्यक्रम गर्न निषेध

राम्रो अनलाइन     १८ जेठ २०८२, आइतबार

काठमाडौँ–जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाको शान्तिसुरक्षा तथा सार्वजनिक सेवालाई ध्यानमा राखेर तोकिएको ठाउँमा बाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न नपाउने गरी आदेश जारी गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिए। काठमाडौँ प्रशासनले जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला÷जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो समेतलाई दृष्टिगत गर्दै उक्त आदेश जारी गरेको जनाएको छ ।

प्रजिअ तिवारीद्वारा आज जारी आदेशमा त्यस्ता कार्यक्रम आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो आाएको तथा सार्वजनिक सम्पत्ति र समग्र शान्तिसुरक्षामा असर पर्न जाने अवस्था देखिएकाले जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३क० बमोजिम जेठ १९ गतेदेखि लागू हुनेगरी तोकिएको स्थान बाहेकमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको उल्लेख छ । 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको उक्त आदेश आउँदो दुई महिनासम्म कायम रहने जनाइएको छ । 

प्रतिक्रिया