काठमाडौँ : सरकारले फेरि संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी छन् ।
आज जारी अध्यादेशमा अन्य अध्यादेशहरुमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ रहेका छन् ।
यसअघि सरकारले गत मंसिरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो ।
