दश सङ्क्रमितको मृत्यु
सुदूरपश्चिम, १९ वैशाख : सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ ।
शनिबार प्रदेशमा पिसिआर पद्धति र एन्टिजेन पद्धतिबाट एक हजार ४१५को नमूना परीक्षण गर्दा ४३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म एन्टिजेन परीक्षणबाट सङ्क्रमण भएकामध्ये२०र पिसिआर परीक्षणबाट सङ्क्रमण भएकामध्ये८०जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा ५९सङ्क्रमित उपचाररत रहेकामध्ये तीन जना भेन्टिलेटरमा र १७ जनाको सघन उपचार कक्षमा राखेर उपचार व्यवस्थापन भइरहेको छ ।
अक्सिजनको सहयोग लिएर३४ र ‘मोडरेड केस’ पाँच जनाको उपचार भइरहेको छ । कोरोना अस्थायी अस्पतालमा बिरामीको चाप बढ्दा सहजरूपमा उपचार व्यवस्थापन गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।कोरोना सङ्क्रमण र मृत्यु दर उच्च हुँदा सक्रिय बिरामी पनि बढेका छन् । प्रदेशमा एक हजार ८५२ सक्रिय बिरामी पुगेका छन् ।
एकै रातमा चार सङ्क्रमितको मृत्यु
बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए ।
उनका अनुसार यही वैशाख १४ गते भर्ना भएका बैजनाथ गाउँपालिका–२ बाँके निवासी २० वर्षीय पुरुष र १७ गते भर्ना भएका राजापुर नगरपालिका–२ बर्दिया निवासी २७ वर्षीय युवाको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी यही वैशाख १७ गते भर्ना भएकी कोहलपुर नगरपालिका–११ निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा गए राति करीब ८ः०० बजे भेरी अस्पतालमा मृत्यु भएको थियो । खजुरा गाउँपालिका–३ निवासी ५५ वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको छ । वैशाख १७ गते गरिएको एन्टिजेन परीक्षणबाट उनलाई कोभिड पुष्टि भएपश्चात् गाउँपालिकाले खजुरामा बनाएको आइसोलेशनमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।
योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट १२३ र उपचारका क्रममा बाहिरी जिल्लाबाट आएका ११९ जनाको मृत्यु भएको छ ।
गोरखाका सङ्क्रमितको चितवनमा मृत्यु
गोरखाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ का ७८ वर्षीय वृद्ध रहेका छन् ।
उनीको आज राति १२ः४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भई यही वैशाख १७ गते सो अस्पतालमा भर्ना भएका उनीमा १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनीको मृत्यु भएको अस्पतालले जनाएको छ ।
सङ्क्रमितको मृत्यु
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका दुईजना कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।
अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–७ का ५५ वर्षीया महिला र सोही नगरपालिका १८ का ४७ वर्षीय पुरुष रहेका छन् । महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो ।
अक्सिजनको सहायतामा उपचार भइरहेकै अवस्थामा महिलाको मृत्यु भएको हो । यसैगरी, गत वैशाख १४ गते कोरोना सङ्क्रमित भई अस्पताल भर्ना भएका पुरुषको सघन उपचार कक्ष (आइसियु)मा उपचारका क्रममा आज मृत्यु भएको छ ।
दाङमा थप दुईजना सङ्क्रमितको मृत्यु
दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत थप दुईजना सङ्क्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष रहेको कोरोना अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए ।
तुलसीपुरका पुरुष हिजोदेखि सो अस्पतालमा उपचाररत थिए । उनीको आज दिउँसो पौने १ बजे मृत्यु भएको हो । त्यस्तै, घोराहीका पुरुष गत वैशाख १२ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत थिए । उनीको आज बिहान साढे ८ बजे मृत्यु भएको हो ।
यसैबीच कोरोना अस्पतालमा उपचारत ४० जना कोरोना सङ्क्रमितको ज्यान जोखिममा रहेको व्यवस्थापक वली जानकारी दिनुभयो । अक्सिजन अभाव हुँदा सङ्क्रमितको ज्यान जोखिममा परेको हो । “हिजो बेलुका ८ बजेदेखि अक्सिजनको व्यवस्थापन गर्न भनी जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको अहिले स्थिति सङ्कटपूर्ण हुन लागिसक्यो”, उनले भने । हाल कोरोना अस्पताल बेलझुण्डीमा ५९ जना कोरोनाका बिरामीहरू उपचाररत छन् ।