सुडी समाज काठमाडौँको अध्यक्षमा महतो निर्वाचित

राम्रो अनलाइन     १४ वैशाख २०८२, आइतबार

काठमाडौँ–  सुडी समाज काठमाडौँको आज यहाँ सम्पन्न १४औँ वार्षिक साधारणसभाले शीतलप्रसाद महतोको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । ‘सुडी समुदायको स्वाभिमान, सम्मान र पहिचानका लागि सशक्त समाज’ भन्ने मूल नाराका साथ सम्पन्न साधारणसभाले समाजको प्रथम उपाध्यक्षमा शङ्कर साह सुडी र उपाध्यक्षमा विनय गामीलाई चयन गरेको छ ।

महासचिवमा डा. प्रकाशचन्द्र पञ्जियार, सचिवमा वीरेन्द्रकुमार साह, कोषाध्यक्ष विनोद महासेठ र सह–कोषाध्यक्षमा अञ्जु चौधरीलाई चयन गरिएको छ । सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठले सुडी समुदायको विकास र उन्नयनका लागि नयाँ योजना तथा दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे । उनले अनुशासित, मर्यादित समाजको निर्माण गर्न हरेक अभिभावकले आफ्ना बालबालिकालाई उचित र समयसापेक्ष शिक्षा दिनुपर्नेमा जोड दिए । 

समाजका पूर्वअध्यक्षद्वय प्रा.डा रामनन्दनप्रसाद चौधरी र डा.अशोक महासेठ, समाजका अग्रज डा शङ्करप्रसाद सुडीलगायतले सुडी समुदाय र जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि समाजका अगुवाले सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याए। समाजका उपाध्यक्ष अनिता निराला र समाजका अगुवा डा. वैजनाथ महतोले समाजको विकास र समृद्धिका लागि सबैले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोडमा दिए । 

समाजका नवनिर्वाचित अध्यक्ष महतोले समाजभित्रको यथार्थता आत्मसात् गरेर सुडी समाजको सङ्गठनात्मक सुदृढीकरण र समाजको उन्नयनका लागि सम्बन्धित सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सुडी समुदायका व्यक्तिहरूबीच मैत्रीपूर्ण एंव पारस्परिक सम्बन्ध कायम गरी आपसी सहयोग र समझदारीको विकास गर्ने तथा सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत क्षेत्रको विकास, उन्नयन र कल्याणका लागि सुडी समाज काठमाडौँ २०५८ सालमा स्थापन भएको हो । 

प्रतिक्रिया