काठमाडौं । नेपाली कांग्रेसले कोभिड १९ संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भनेर सरकारले लाचारीपन देखाएको बताएको छ । यस्तो अभिव्यक्ति सरकारबाट आउनु लज्जास्पद भएको कांग्रेसको भनाइ छ ।
संकटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुपर्नेमा सरकार गैह्रजिम्मेवार बनेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर जनाएका छन् ।
प्रवक्ता शर्माले शनिबार निकालेको प्रेस विज्ञप्तिमा अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको उल्लेख गरेका छन् ।
अस्पतालमा बेड छैन भन्नु सरकारको इतिहासकै सबैभन्दा गैह्रजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार भएको कांग्रेसले बताएको छ । कांग्रेसले भनेको छ, ‘यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न ।’
विज्ञप्तिमा पूरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने भन्दै सरकारको आलोचना प्रवक्ता शर्माले गरेका छन् ।
कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा काम गर्न र कोरोनाविरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेसले संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुन्छ भन्दै बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा हुन नसक्ने बताएको छ । कांग्रेस परिस्थितिको गम्भीरता बमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन सधै तयार रहेको शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
