जलेश्वर, १७ वैशाख : एक दम्पतिको हत्या प्रकरणमा पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
घरमा सुतिरहेको अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनका ५८ वर्षीया पत्नी गीतादेवी झालाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा जिल्ला अदालत महोत्तरीेले पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा दम्पतिका छोरा मनिष झाको जाहेरीका आधारमा वादी नेपाल सरकार भएको अपहरण, शरीर बन्धक, ज्यान सम्बन्धी कसुर, अपराधिक षड्यन्त्र, लागुऔषध र चोरी मुद्दाका प्रतिवादी सात जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ । न्यायाधीश डा।रमेशप्रसाद रिजालको इजलासले प्रतिवादीहरु कैलाश झा, हरेन्द्र ठाकुर, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने राजिन्द्र यादव, विकाश भन्ने बबलु झालाई थुनामा राखी मुद्दाको कारबाही गर्ने र तारादेवी झालाई रु दुई लाख धरौटीमा तारेखमा राखी मुद्दाको कारबाही गर्ने आदेश भएकोमा तारादेवीले धरौटी रकम बुझाउन नसक्दा उनीसहित सातै जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो ।
यस घटनामा संलग्न रन्जित मिश्र र तेज नारायण झाको हकमा पक्राउ पूर्जी म्याद जारी गर्न आदेश भएको हो । गत फागुन १० गते सुतेकै अवस्थामा घरबाट गायब भएका झा दम्पतिको शव गत चैत १२ गते प्लाष्टिकको बोरामा राखेर गाडिएको अवस्थामा भेटिएको थियो । पिपरा गाउँपालिका–२ स्थित पिपरा–धिरापुर सडकखण्डमा गतवर्ष बाढीले २० फिट गहिरो हुने गरी माटो बगाई बनाएको खाल्डो पुर्ने क्रममा स्काइभेटरको बकेटमा कङ्काल रहेको बोरा भेटिएपछि झा दम्पतिको पत्तो लागेको थियो ।
घटनामा संलग्न नौ जनामध्ये जिल्ला प्रहरी कार्यालय महोत्तरीले सात जनालाई पक्राउ गरी मुद्दा चलाएर जिल्ला अदालतमा उपस्थित गराएकोमा सातै जना जेल चलान भएका हुन् भन्ने घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य जारी रहेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले बताए ।