कसैको वैशाखीविना एक भएर स्ववियु निर्वाचनमा उत्रन अनेरास्ववियुलाई प्रधानमन्त्री ओलीको आव्हान

राम्रो अनलाइन     २५ पुस २०८१, बिहिबार
कसैको वैशाखीविना एक भएर स्ववियु निर्वाचनमा उत्रन अनेरास्ववियुलाई प्रधानमन्त्री ओलीको आव्हान


काठमाडौँ–प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीविना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी सङ्गठन अनेस्ववियुलाई आग्रह गरेका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आशन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा आज एमालेको केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थापित र सफल खेलाडी अरुको वैशाखी नटेकी आफै दौडिएर पदक जितेको उदाहरण प्रस्तुत गरे । अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ तुफान भएर अगाडि बढ्न र महान् सफलता हासिल गर्न शुभकामना दिए। 

नेपालको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुुरु भएको उल्लेख गर्दै उनले प्रजातन्त्र स्थापना पहिले गङ्गालालले मानवअधिकारसम्बन्धी पहिलो भाषण र सङ्गठन दिनुभएको  र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी आफ्नो पार्टी भएको स्पष्ट गरे।

अध्यक्ष ओलीले त्यही बिउ फुकेर एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्तिको निर्माणको दिशामा अग्रसर भएको जनाउँदै मार्छौँ र सिध्याउँदै भन्नेहरुलाई पनि आफूहरुले जनमतमा पहिलो शक्ति भएर देखाइदिएको बताए । “खै एमाले, कहाँ छ एमाले भन्नेहरुलाई प्रतिस्पार्धाबाट ठ्याम्म उत्तानो लगाइदिएपछि थाहा हुन्छ ।”, अध्यक्ष ओलीले भने, “विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र संघर्षले लोकप्रिय हुने क्षेत्र होइन । यो राम्रो काम गरेर शान्तिपूर्णरुपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी कमजोर भएर चुप लागेर बस्दैनौँ । म साथीहरुलाई राम्रो काममा एग्रेसिभ्ली लाग्न आग्रह गर्दछु ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग समेटिएको पुस्तकको लोकार्पण गरे ।

कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्दै भविष्यका कर्णधारका रुपमा रहेका विद्यार्थी वर्गको पहिलो रोजाइ अनेरास्ववियु मात्रै हुन सक्ने बताए । कार्यmममा अनेरास्ववियुका पूर्व अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमालेको जनसङ्गठन संयन्त्रका संयोजक भानुुभक्त ढकाल, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताहरुको उपस्थिति थियो । आगामी फागुन १५ गते विश्वविद्यालयहरुमा स्ववियु निर्वाचन हुँदैछ ।

प्रतिक्रिया