प्रदीप ज्ञवाली भन्छन् : ‘प्रचण्डले लगाउँदै आएकै आरोपहरू भीम रावलले कपीपेस्ट गरे’ 

राम्रो अनलाइन     १८ पुस २०८१, बिहिबार
प्रदीप ज्ञवाली भन्छन् : ‘प्रचण्डले लगाउँदै आएकै आरोपहरू भीम रावलले कपीपेस्ट गरे’ 


काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निकालिएका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोपहरू नेकपाकालमा प्रचण्डको १९ पेज लामो पत्रको कपीपेस्ट जस्तो भएको टिप्पणी गरेका छन् । ललितपुरको च्यासलमा विहीबार बसेको सचिवालय बैठकपछि ज्ञवालीले सञ्‍चारकर्मीले सोधेको प्रश्‍नको जवाफमा यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘नेकपाकालमा प्रचण्डले तत्कालीन अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीमाथि यिनै भाषामा अभियोगहरू लगाउनु भएको थियो । सायद १९ पेजको थियो जस्तो लाग्छ । भीम रावलको हिजोको गालीगलोज पनि एक किसिमको कपिपेस्ट जस्तै हो ।’

उनले हिजो भीम रावलले ओलीमाथि उठाएका प्रश्नले उनीभित्र कति नकारात्मक कुरा रहेछ भन्ने प्रष्ट भएको बताए । बुधबार भीम रावलले  पत्रकार सम्मेलनमार्फत केपी ओलीमाथि ७४ प्रश्‍न तेर्स्याएका थिए ।

सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने

पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको जानकारी पनि दिए । उनले राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरुमा छलफल भएको पनि बताए ।

साथै सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको र सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको तर पर्याप्त नरहेको निस्कर्ष पार्टीको रहेको उनले जानकारी दिए ।  नागरिकलाई सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ छ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया