यस वर्षको हिउँदे वर्षा आजबाट सुरु हुने

राम्रो अनलाइन     ०८ पुस २०८१, सोमबार
यस वर्षको हिउँदे वर्षा आजबाट सुरु हुने

 

काठमाडौं- पश्चिम नेपालबाट आजदेखि हिउँदे वर्षा सुरु हुने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुने सम्भावना छ।

काठमाडौं र पोखरामा पनि छिटफुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आइपुग्नेछ। त्यो पनि पश्चिम नेपालमा मात्र रहने महाशाखाको बुलेटिनमा उल्लेख छ। आज तराई र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको छ। यसले यातायात क्षेत्रमा केही असर पर्न सक्ने भएकोले सावधानी अपनाउन सचेत गराइएको छ।

यसका साथै उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुँदा जाडो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। कर्णाली र सुदूरपश्चिममा मंगलबार मौसम बदली भई केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया