‘परिवर्तनमा योगदान गरेका दललाई बद्नाम गर्ने कोशिश भएकाले वर्तमान सरकार बन्याे’

राम्रो अनलाइन     ३० मंसिर २०८१, आइतबार
‘परिवर्तनमा योगदान गरेका दललाई बद्नाम गर्ने कोशिश भएकाले वर्तमान सरकार बन्याे’

 

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गरेका  छन्। ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिश भएकाले दुई ठुला दलको सहकार्यमा सरकार बनेको बताएका हुन्।

यो सरकार केवल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको उनको भनाइ थियो।

‘गुठीको संरक्षण गर्न कानुन बनाउनुपर्छ भन्दा मविरुद्ध भ्रम फैलाइएर विरोध गरियो। प्रहार गरियो। भ्रष्टाचारमा उजुरी परेका माथि २०औँ वर्षसम्म होइन सकेसम्म छिटो र बढीमा पाँच वर्षभित्र छिनोफानो हुनुपर्छ भन्दा भ्रष्टाचार गरेकालाई बचाउन खोज्यो भनेर गलत प्रचार गरियो। यस्ता हल्लाहरु नेपालमा भाँडभैलो मच्याउने प्रयासका उपज हुन्’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाल भाँड्नका लागि र हाम्रो एकता भत्काउनका लागि कतिपयले हल्ला गर्ने गरेका छन् तर हामी साम्प्रदायिक विद्षका पछाडि होइन, सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता ल्याउन चाहन्छौँ। यो जातलाई खेद, अर्काे जातलाई खेद भन्दैनौँ। बैँकको ऋण नतिर भन्दैनौँ। नयाँ नेपाल निर्माणको महान अभियानमा हामी छौँ। नेपाललाई गरिबीबाट समृद्धि र सुखी बनाएरै छाड्नेछौँ।’

प्रधानमन्त्री ओलीले अहिले आफूहरुले जे दःख भोगेका छौँ त्यस्ता दुखः हाम्रा छोरानातिहरुले दुःख भोग्नु नपरोस् भनेर सरकारले गम्भीरताका साथ काम गरिरहेको जनाउँदै सबै जाति, भाषी, आस्था र विश्वासका मानिस एकजुट भएर समाजलाई सभ्य र एकताबद्ध बनाउन आवश्यक रहेको बताए।

सामाजिक सञ्जालमा सुन्न र हेर्न नसकिने भाषा होइन, सभ्य  र सुसंस्कृत हुँदै आत्मीयता र भात्रृत्वका साथ नेपाल र नेपालीको एकता बचाउन पनि आग्रह गरे।

प्रतिक्रिया