विपद्का घटनाबाट चिन्तित चुरेफेदी

राम्रो अनलाइन     २८ मंसिर २०८१, शुक्रबार
विपद्का घटनाबाट चिन्तित चुरेफेदी

 

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका चुरेफेदीको बस्तीमा विपद्जन्य गतिविधि बढ्दै जान थालेकामा बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन्। बर्सेनि वर्षात्का बेला चुरे क्षेत्रमा निरन्तर जाने पहिरोबाट खोलामा बालुवा, गेग्रान, ढुङ्गालगायत भरिएर चौधरीको घरसम्म बाढीको पानी पुग्ने गरेको छ। खोला र जमिनको सतह बराबर भएपछि खोलाको पानी घरसम्म पुग्न थालेको उनी बताउँछन्।
 
दुई वर्षदेखि बेलडाँडीमा वनहरा नदी र अनौखी खोलाको बाढी पस्न थालेको हो। 'यस वर्ष भदौको अन्तिम साता बाढीको पानी गाउँमा पस्दा डुबान र पटानका कारण बालीनालीमा मात्र क्षति भयो, समयमै जानकारी पाइएपछि मानवीय क्षति हुन पाएनु' चौधरीले भने,'गत वर्ष चुरेमा वर्षा हुँदा राति १ बजेको समयमा बाढी आउँदा स्थानीय किसानले पशुपक्षीलाई सुरक्षित स्थानमा सार्न नसक्दा ठूलो क्षति बेहोर्नुपरेको थियो।' बेलडाँडीको पूर्वतर्फ वनहरा र पश्चिमतर्फ अनौखीखोला छ।

गाउँको उत्तरतर्फको भालुखोला पहिला निकै गहिरो थियो। वर्षाको पानी त्यही खोलामा बगेर जान्थ्यो। हाल चुरे क्षेत्रमा मानवीय गतिविधि बढ्दै गएपछि पहिरो जाँदा त्यो खोला पूरै पुरिएको स्थानीय मोतिराम चौधरी बताउँछन्। 'केही वर्षयतादेखि वर्षाको सन्तुलन बिग्रिएको छु, उनले भने, 'एकछिनमा ठूलो पानी पर्छ, पहिलाजस्तो निरन्तर पानी पर्दैन, एकछिन पर्ने मुसलधारे पानीले गर्दा आउने बाढीे विनासकारी हुने गर्छ, पहिला अहिलेको जस्तो बाढीको समस्या थिएन।' 

अहिले चुरे क्षेत्रमा निरन्तर जाने पहिराले गर्दा खोलानाला पुरिएपछि बाढीको पानी बस्तीमा पुगेर डुबान पटान गर्न थालेको उनको भनाइ छ। 'अवैज्ञानिक रूपमा चुरे क्षेत्र नजिकका खोलानालाबाट ढुङ्गा, बालुवा, ग्राभेल, माटोलगायत उत्खननको काम हुन थालेको छु, वीरबहादुर चौधरीले भने, 'चुरे क्षेत्रमा अवैध रूपमा गोठ राखेर बाख्रासहित पशुचौपाया चराउने कार्य हुन थालेको छ, आगलागीका घटनामा वृद्धि हुँदै गएका छन्, अवैध रूपमा रुखबिरुवा कटानी हुने क्रम बढ्दा विपद्को समस्या बल्झिँदै जान थालेको छ।'

जग्गा कटानी रोक्न गत वर्ष रु दुई लाखको लगानीमा अनौखीखोलामा नगरपालिकाले तटबन्ध निर्माण गरे पनि यस वर्षको बाढीले तटबन्ध नै बगाएर लगेको चौधरीले बताए। बढ्दै गएको बाढीजन्य विपद्को सामना गर्न कुनै पनि निकायबाट प्रभावकारी काम नहुँदा चुरे क्षेत्र नजिकका बस्ती केही वर्षभित्र मरुभूमिमा परिणत हुने उनको भनाइ छ। उर्वर जग्गा प्रत्येक वर्ष बालुवा, ढुङ्गा, गेग्रानले पटान हुँदै जान थालेपछि विगतको जस्तो खेती हुन छाडेको मानबहादुर चौधरीले बताए।

उनका अनुसार खेतकै अन्नले वर्षभरि खान पुग्ने परिवार हाल खान नपुगेर भारतलगायत देशमा मजदुरी गर्न जान थालेका छन्। केही परिवार बस्ती नै छाडेर अन्यत्र बस्न थालेका छन्। खोला नदीमा थुप्रिएको नदीजन्य पदार्थको व्यवस्थापन गर्न स्थानीय बासिन्दाले माग गरेका छन्। 'नदीजन्य पदार्थ धेरै वर्षदेखि नउठाइँदा समस्या आएको छु, मनोज चौधरीले भने, 'वैज्ञानिक तरिकाले नदीजन्य पदार्थ उठाएर वर्षाको बाढीको पानी बग्ने व्यवस्था मिलाइदिनुपर्‍यो।'

वर्षाको बाढीको पानी बग्ने ठाउ साँघुरिँदै जाँदा र पुरिँदा समस्या भएकाले तत्काल नगरपालिकाले ठेक्का प्रक्रियामार्फत नदीजन्य पदार्थ उठाउने व्यवस्था गर्नुपर्ने उनको छ। 'तीन दशक अघिसम्म जिल्ला विकास समितिले नदीजन्य पदार्थ उठाएर सडक निर्माणका कार्यमा प्रयोग गर्दै आएको थियोु, फुलपट्टु डगौराले भने, 'जिल्ला विकास समिति विघटन भएपछि नदीजन्य पदार्थ उठाइएको छैन, त्यसपछि बाढीजन्य विपद्को सामना गर्दै आएका छौँ।'

थोरै वर्षामा बाढीको पानी गाउँ पस्दा बेलडाँडी गाउँका दुई सय ३० परिवार प्रभावित भएका छन्। जसमध्ये ३५ परिवार बाढीको उच्च जोखिममा छन्। शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता लालबहादुर ऐर केही नदीमा नदीजन्य पदार्थको व्यवस्थापन गर्न गौँडी र अनौखीखोलाको ठेक्का प्रक्रियाको काम अगाडि बढेको बताउँछन्।
 
बाढीजन्य विपद्का घटना भइरहेका अन्य क्षेत्रको अध्ययन गरी बस्ती पनि सुरक्षित रहोस्, नदीजन्य पदार्थको वैज्ञानिक तरिकाले व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर काम अगाडि बढाउन नगरप्रमुख, उपप्रमुखलगायत कार्यपालिका सदस्यसँग छलफल गरी कार्य अगाडि बढाउने उनले बताए। चुरे विनास रोक्न ठोस योजना बनाइने उनको भनाइ छ।     

प्रतिक्रिया