काठमाडौं । नेपाली कांग्रेसले पार्टीको निर्वाचन समिति संयोजकको जिम्मेवारी पूर्वामहान्यायाधिवक्ता महादेव यादवलाई दिएको छ । निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त थियो ।
आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा यादवलाई निर्वाचन समिति संयोजकको जिम्मेवारी दिने सहमति भएको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा यादवलाई संयोजक बनाउने सहमति जुटेको हो ।
अधिकारीको राजीनामापछि नेता रामचन्द्र पौडेल समूहले निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेलाई नै संयोजक बनाउनुपर्ने बताउँदै आएको थियो । तर, संस्थापन पक्ष त्यसमा सहमत भएको थिएन । लामो समयको छलफलपछि आज यादवलाई संयोजक बनाउने विषयमा सहमति जुटेको हो ।
बैठकले यसअघि निर्वाचन समितिले समायोजन टुंग्याउन नसकेर पार्टीलाई नै जिम्मा लगाएको विवाद पुनः निर्वाचन समितिबाटै टुंगो लगाउते सहमति पनि गरेको छ ।