मिस अर्थको पहिरन प्रतिस्पर्धामा मिस नेपाल अर्थ सुमना केसीले जितिन् पदक 

राम्रो अनलाइन     २० कात्तिक २०८१, मङ्गलबार
मिस अर्थको पहिरन प्रतिस्पर्धामा मिस नेपाल अर्थ सुमना केसीले जितिन् पदक 


काठमाडौं– नेपालको पहिरनले वातावरण सुन्दरी प्रतियोगिता मिस अर्थ २०२४ अन्तर्गतको एक महत्वपूर्ण विधामा रजत पदक जितेको छ । फिलिपिन्सको मनिलामा आयोजित ‘अपसाइक्लिङ फेसन शो’मा पदक जितेको हो ।

खेर गएका सामग्रीको पुनःप्रयोगमार्फत तयार पारिएका आकर्षक र वातावरणमैत्री पहिरनलाई लिएर प्रतिस्पर्धा गरिएको थियो । जसमा मिस नेपाल अर्थ सुमना केसीले प्रतिस्पर्धा गरिरहेकी छिन् ।

सुमनाले पहिरिएको उक्त पहिरन इको–फ्रेन्ड्ली र नयाँ डिजाइन रहेको निर्णायकले बताएका थिए । यस प्रतिस्पर्धामा मौरिससले स्वर्ण पदक र नेदरल्याण्ड्सले काँस्य पदक जिते ।

‘यी डेलिगेट्सले दिगो फेसनको सुन्दरतालाई हाइलाइट गर्दै, खेर गएका सामग्रीलाई आश्चर्यजनक सिर्जनामा रूपान्तरण गरे । यी प्रेरणादायी पर्यावरणमैत्री डिजाइन आकर्षक पनि छन्’ विजेता घोषणा गर्दै मिस अर्थले भनेको छ ।

समुन्द्रमा प्लास्टिक प्रदूषणबारे नेपालले डिजाइन तयार पारेको थियो । यो पहिरनको उपल्लो भाग टेबलमा बिच्छयाउन प्रयोग हुने टेबलक्लोथको प्रयोग गरिएको छ । तल्लो भागलाई पोलिथिन प्लास्टिकले तयार पारिएको छ जसले समुन्द्रमा हुने प्रदूषित फोका झल्काउने जनाइएको छ । मिस अर्थको ग्राण्ड फिनाले नोभेम्बर ९ मा हुँदैछ ।

प्रतिक्रिया