म्याग्दी- पहिलो अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरो माथिएस हर्जोग ७५ वर्षअघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर पहिलो अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्किएका छन्।
गत शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आएका हर्जोग शनिबार आफ्ना बुबा मौरिसका पदचाप पछ्याउँदै अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए। म्याग्दीको अन्नपूर्ण–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुग्नुभन्दा तीन वर्षअघि सन् १९५० जुन ३ तारिखमा मौरिस हर्जोग सहितको फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो।
बुबा हिँडेको बाटो हेर्न र हिँड्न अन्नपूर्ण क्षेत्रमा आएका माथिएसले प्राकृतिक सुन्दरताले भरिपूर्ण अन्नपूर्ण प्रथम हिमालको विश्वभर प्रचारप्रसार गर्न अनुरोध गरे। माथिएसले अन्नपूर्ण र मौरिस हर्जोग पदमार्गलाई विश्वभर चिनाउन आफूले सक्दो पहल गर्ने बताए। माथिएसलाई उद्धृत गर्दै उनीसँगै अन्नपूर्ण आधारशिविर गएका मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले भने, ‘जेठो हिमाल भनेर चिनिने अन्नपूर्ण अहिले गुमनाम जस्तै छ। अन्नपूर्णको पर्यटकीय सम्भावनाका बारेमा विश्वभर प्रचारप्रसार गर्नुपर्दछ। मौरिस हर्जोग पदमार्ग, आधार क्षेत्र लगायतका स्थानहरुमा पर्यटन पूर्वाधार निर्माण गरेर विश्वभरका पर्यटकलाई यस क्षेत्रमा ल्याउनुपर्दछ।’
अभियान्ता गुरुङका अनुसार माथिएसले आधार शिविरस्थित पञ्चकुण्ड ताल नजिक राखिएको पिता मौरिसको सालिकमा माल्यार्पण गर्नुका साथै सामूहिक तस्बिर पनि खिचेका थिए। उनले आधार शिविर पुगेर केही बेर ध्यान पनि गरेको गुरुङले बताए। गुरुङले भने, ‘पदयात्राका क्रममा माथिएसले ७५ वर्ष पहिला आफ्ना पिता हिँडेको मार्ग देखेर चकित हुनुभयो। अहिले जस्तो उवेला पदमार्ग थिएन। भिरपहराको बाटो हुँदै मौरिस यही बाटो भएर अन्नपूर्ण हिमाल आरोहण गर्नुभएको बारेमा हामीले उहाँलाई जानकारी गराएपछि माथिएस दंग पर्नुभयो।’